खोटाङः शिवरात्रीको अवसर पारेर त्रिधार्मिकस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने र मेला भर्नेको बाक्लो भीड लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको त्रिवेणीस्थल हलेसीमा शिवरात्रिका अवसरमा लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीका कारण बिहानैदेखि भीड लागेको हो ।
मेलामा नेपाललगायत भारत, चीन, भुटान, बङ्गलादेश, कोरियालगायतका मुलुकका हजारौँ दर्शनार्थीको उपस्थिति रहेको थियो । उदयपुर र खोटाङको सिमानामा पर्ने हर्कपुरस्थित सुनकोशी तथा खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशी नदीमा पक्की पुल सञ्चालनमा आएपछि हलेसी आउने दर्शनार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको हो ।
पुल सञ्चालनमा आएसँगै राजधानी काठमाडौँ तथा तराईसँग सिधा यातायात जोडिएपछि काठमाडौँ, धरान, विराटनगर, जनकपुरधाम, इलाम, रौतहट, पोखरालगायत छिमेकी देश भारतका दर्शनार्थी गाडी रिजर्भ गरेर आउने गरेका छन् । धार्मिक तथा सांस्कृतिक रूपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।
महादेव गुफा, धर्मद्वार, पापद्वार, बसाहा गुफा, भैरव गुफा, दुङ्देलो गुफालगायत धार्मिक तथा पर्यटकीय स्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थी आउने गरेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले बताए । हप्ता दिनसम्म लाग्ने शिवरात्रि मेलालाई व्यवस्थित बनाउन सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।
हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, हरितालिका तीजजस्ता पर्वमा ठूलो मेला लाग्ने गर्दछ । हलेसी आवतजावत गर्न यातायातको सुविधा तथा बास बस्नका लागि होटल पर्याप्त मात्रामा खुलेपछि अन्य समयमा पनि उत्तिकै मात्रामा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ ।