ताप्लेजुङः गोर्खा राज्य परिषद दार्जिलिङ भारतका जन सम्पर्क अधिकारी अरुण सिग्चीले ताप्लेजुङको एक मन्दिरको स्तरोन्नतिका लागि आर्थिक सहायता प्रदान गरेका छन् ।

फुङलिङ नगरपालिकामा रहेको गेहेश्वर शिवालय र बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयको संयुक्त आयोजनामा आयोजित महायज्ञ मार्फते उनले गेहेश्वर शिवालय मन्दिरको स्तरोन्नतिका लागि ५१ हजार रुपैयाँ सोमबार प्रदान गरेका हुन् ।

यस्तै भण्डारा खर्चका लागि छुट्टै २५ हजार रुपैयाँसमेत प्रदान गरेको महायज्ञ तथा पुराण आयोजक समितिले जनाएको छ । उक्त रकम प्रदान गर्दै सिग्चीले सबै धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्न अपरिहार्य रहेको बताए । एक अर्का धर्मबीचको सद्भाव कायम गर्दै सबै धर्म र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा उनको जोड थियो । यस्तै गेहेश्वर मन्दिरका लागि ५ वटा मूर्तिसमेत दिने उनले बताए ।

मङ्गलबारदेखि जारी महायज्ञमा विभिन्न दाताले प्रदान गरेको दान रकम १२ लाख रुपैयाँभन्दा बढी पुगेको आयोजकको भनाइ छ । महायज्ञको शुभारम्भमा किरात मुन्धुमविद् तथा संस्थापक डा. चन्द्रकुमार शेर्मा, अन्तर्राष्ट्रिय बौद्ध परिसङ्घ नेपालका पूर्व अध्यक्ष तथा बौद्ध गुरु भिक्षु थप्तेन जिग्डोल र संस्कृतिविद् डा. जगमान गुरुङले प्रवचन दिएका थिए ।

विश्व शान्तिको कामना गर्दै विद्यालय र मन्दिरको स्तरोन्नतिका लागि लगाइएको महायज्ञ आज सकिने छ ।