झापाः पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडकखण्डमा २ वटा मोटरसाइकल एकापसमा जुध्दा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
हिजो राति करीब ८ बजे कृष्ण मन्दिर चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे ३ प १८३२ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्व आउँदै गरेको को ३ प ७७०० नम्बरको मोटरसाइकल एकापसमा जुधेका थिए ।
दुर्घटनामा परेर इलामको चुलाचुलीका ४० वर्षीय पुरणकुमार राईको मृत्यु भएको छ भने दमक–१० का २५ वर्षीय सुजन धिमाल, पाँचथरको फाल्गुनन्द गाउँपालिकाका रमेश तुम्रोक र परिचय खुल्न नसकेका अन्दाजी ४० वर्षीय एक व्यक्ति घाइते भएका छन् ।
घाइते सबैको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतक राई समाजवादी युवा फोरमका प्रदेश नम्बर १ समितिका सहसंयोजकसमेत रहेको बताइएको छ ।