इटहरीः नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदका सन्तानको पालनपोषण तथा शिक्षाको व्यवस्था राज्यले नै गर्ने बताएका छन् ।
प्रचण्डले इटहरी–१९ भवानीपुरमा अवस्थित शहीद आवासीय स्मृति विद्यालयमा शहीद सप्ताह समापन तथा भवन उद्धघाटन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । प्रचण्डले द्वन्द्वपीडित तथा शहीदका सन्तानको शिक्षा, स्वास्थ्य र रोजागारीको व्यवस्था राज्यले नै गर्ने बताएका हुन् ।
विभिन्न क्रान्तिको समयमा शहादत प्राप्त गरेका र बेपत्ता पारिएका व्यक्तिका सपनालाई पूरा गर्दै उनीहरूका सन्तानलाई राज्यले नै पालनपोषणसहित शिक्षाको व्यवस्था गर्ने उनले बताए ।
‘हामीसँग शहीदका सपनालाई पूरा गर्दै लोकतान्त्रिक व्यवस्थालाई पूर्णतः उपभोग गरी समृद्धिको दिशा तय गर्नुपर्ने जिम्मा रहेको छ’, प्रचण्डले भने, ‘त्यससँगै यो व्यवस्थाका लागि सङ्घर्ष गरेका महान सदस्यका परिवारलाई आगामी दिनमा व्यवस्थापन गर्ने विषयमा समेत मा व्यक्तिगत रूपले चिन्तित र गम्भीर छु ।’
देशभरका शहीद तथा बेपत्ता पारिएका परिवारका सदस्यलाई एकै ठाउँमा ल्याएर अध्ययनको वातावरण तयार पारेकोमा स्थानीय नेतृत्वको उनले प्रशंसा गरे । माध्यमिक तहसम्म अध्ययन गरिसकेका विद्यार्थीलाई उच्च शिक्षा र रोजगारीको व्यस्था गर्नुपर्ने विषयमा पनि प्रचण्डले चासो व्यक्त गरेका थिए ।
सो विद्यालयमा अध्ययन सकेपछि पनि कोरियन तथा जापानिज भाषाको अध्ययन गरी वैदेशिक रोजगारीमा जाने गरेको विषयमा गम्भीर हुँदै प्रचण्डले भने, ‘एमए गरेका धेरै युवा विदेश जानुपर्ने बाध्यता छ । यसलाई चिर्न प्रतिनिधि सभामा सङ्घीय शिक्षा विधेयक छलफल हुँदै छ ।’