विराटनगरः राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सङ्घीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । सो पार्टीद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टी संविधान कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए ।

अध्यक्ष राणाले सिंहदरबारको अधिकार स्थानीय तहमा दिनु सङ्घीयताको मजबुत पक्ष भएको बताउँदै प्रदेश सरकारबाट शक्तिको दुरूपयोग हुनु गलत भएको धारणा व्यक्त गरे । राप्रपा (संयुक्त)को एजेण्डामा सहमति जनाउनका लागि पार्टीको ढोका खुला रहेको बताउँदै उनले राप्रपाका कमल थापासँग चुनाव चिह्न ‘हलो’मा सहमति नभएकाले एकीकरण हुन नसकेको प्रष्ट पारे ।

अर्का अध्यक्ष डा. लोहनीले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र, सबैलाई स्वीकार्य संवैधानिक राजसंस्था स्थापनाको मुद्दा लिएर पार्टी अगाडि बढेको बताए । नेपाली काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको र सरकारले पनि सुशासन कायम गरी मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी जनताको विकासको चाहनालाई पूरा गर्न नसकेको लोहनीले बताए ।