धरानः किरात राई यायोख्खाको आगामी ३ वर्षका लागि नेतृत्व चयन गर्ने प्रक्रिया शुरु भएको छ । धरान–८ स्थित सभागृहमा भइरहेको बन्द सत्रमा मङ्गलबार दिउँसोबाट निर्वाचन प्रक्रिया शुरु भएको छ ।

तिलक राईको नेतृत्वमा रहेको यायोख्खाको समिति विघटन भइसकेको छ । अब अध्यक्ष मण्डलले नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया थाल्ने छ ।

यायोक्खाकी पूर्व केन्द्रीय अध्यक्ष यशोदा राईको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन मण्डल पनि गठन गरिएको महाधिवेशन प्रचार संयोजक उपेन्द्र चाम्लिङ राईले बताए ।

उनका अनुसार निर्वाचन मण्डलका सदस्यमा यायोक्खाका सल्लाहकारद्वय दुर्गा राई, चन्द्रविक्रम राई, पूर्व केन्द्रीय महासचिव हरि के साम्पाङ राई, पूर्व केन्द्रीय सदस्य जयकुमार राई र सहजकर्ताको रूपमा निवर्तमान अध्यक्ष तिलक राई रहेका छन् ।

नेतृत्व छनोटमा सहमति खोजिँदै
यायोख्खाको आगामी ३ वर्षका लागि चुनिने कार्यसमिति सर्वम्मत छान्नुपर्ने दबाब परेको छ । निर्वाचन गर्दा यायोख्खा भित्रको एकता कमजोर देखिने भन्दै यायोख्खाले सहमतिमै नेतृत्व चयन गर्नुपर्ने एक महाधिवेशन प्रतिनिधिले बताए ।

‘वर्तमान कार्यसमितिका उपाध्यक्ष दिवस राईको नेतृत्वमा नयाँ समिति सर्वसम्मत रूपमा चयन हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ एक प्रतिनिधिले भने, ‘अरु पनि आकाङ्क्षी देखिए छलफलबाट टुङ्गो लगाउनुपर्छ ।’