इटहरीः कोशी राजमार्ग अन्तर्गत इटहरी– धरान सडकखण्डमा दैनिक उड्ने पिरो धुवाँका कारण यात्रुहरू समस्यामा पर्ने गरेका छन् । दुई ठूला उपमहानगर धरान र इटहरीको फोहोर जलेर निस्कने पिरो अमिलो धुवाँका कारण यात्रुहरूमा स्वास्थ्य समस्या देखा पर्न थालेको हो ।
दैनिक यात्रा गर्नुपर्ने यात्रुहरू सबैभन्दा मारमा परिरहेका छन् । धरानमा मोबाइलको पसल सञ्चालन गर्दै आएका इटहरीका भरत अग्रवाल पछिल्लो समय श्वासप्रश्वासको समस्या बढेको बताउँछन् । केही दिन यात्रा नगर्दा कम हुने र यात्रा गरेको दिनदेखि समस्या बल्झिने गरेको उनको भनाइ छ ।
त्यस्तै कर कार्यालय धरानमा काम गर्ने सुन्दरहरैंचाका प्रमोद खनालको पनि समस्या त्यस्तै छ । नाक थुनिने, अमिलो पिरो खकार आउने समस्या देखा परेको बताउँछन् उनी । डाक्टरले धुवाँधुलोबाट बच्नुपर्ने बताए पनि नियमित यात्रा गर्नुपर्ने भएकाले समस्या समाधान हुन नसकेको उनको भनाइ छ ।
उनीहरू मात्र होइन पूर्वाञ्चल विश्वविद्यालयका मेडिकल डाइरेक्टर विपेश आचार्यको पनि समस्या उस्तै छ । अमिलो पिरो धुवाँले धेरैलाई असर गरिरहेको उनी बताउँछन् । यस विषयमा इटहरी र धरान उपमहानगरमै गएर बारम्बार आफूले कुरा राखे पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ ।
यसरी नै धुवाँको मात्रा बढ्दै जाने हो भने मानवदेखि जीवजन्तुलाई समेत गम्भीर असर गर्ने उनको तर्क छ । एक दिनमात्र यस्तो वातावरणमा हिँड्ने मानिसलाई श्वासप्रश्वास सम्बन्धी समस्या देखिने उच्च सम्भावना रहने उनको भनाइ छ । दैनिक यात्रा गर्ने मानिसहरूमा श्वासप्रश्वास मात्र होइन, आँखा, फोक्सो, कलेजो लगायत मष्तिष्कसम्म त्यसको असर पुग्ने उनको तर्क छ ।
कार्बनडाइअक्साइडको मात्र शरीरमा बढी भए पनि मानसिकदेखि शारीरिक समस्या हुने उनी बताउँछन् । सयौँ चुरोटको धुवाँभन्दा फोहोर वस्तु जलेको धुवाँ बढी भयानक हुने उनी बताउँछन् ।
धुवाँका कारण यात्रुहरू मात्र होइन इटहरी–१९ भवानीपुरको सिङ्गो गाउँ नै समस्यामा परेको छ । स्थानीय जयबहादुर पुरीको परिवारका ५ जना सदस्यमध्ये पाँचै जनामा स्वास्थ्य समस्या देखा पर्न थालेको छ । सबैको समस्या एकै प्रकारको देखिन्छ । घाँटी, टाउको दुख्नेदेखि श्वासप्रश्वासमा समस्या देखिने गरेको हो । नियमित औषधी सेवन गरे पनि अहिलेसम्म कसैको पनि स्वास्थ्यमा सुधार नभएको पुरी बताउँछन् ।
इटहरी र धरान उपमहानगरपालिकाको फोहोर जलेर निस्कने धुवाँको कारण सिङ्गो गाउँमा नै स्वास्थ्य समस्या देखिएको हो । गाउँमा आउने पाहुनालाई समेत रोगले समस्यामा पार्ने गरेको छ । २ हजार ५ सय परिवार रहेको भवानीपुरमा हरेक घरमा श्वासप्रश्वास समस्या देखिन्छ । बालबालिका र वृद्धवृद्धामा निमोनिया र थाइराडको समस्या बढी देखिएको स्थानीय चन्द्रबहादुर गिरीले बताए ।
जङ्गलबाट आउने अमिलो पिरो धुवाँले खाना पकाउँदादेखि हरेक काममा मास्क लगाउनुपर्ने हुन्छ । जङ्गलदेखि पश्चिम दक्षिण क्षेत्रमा रहेको गाउँमा बिहान र साँझमा बहने उत्तरी हावाले धुवाँ गाउँतर्फ फैलाउने गरेको स्थानीय बताउँछन् ।
फोहोरबाट निस्कने तामा, फलामलगायतका धातु खोस्रिइने गरेको छ । धातु खोज्ने समूहले फोहोर जलाउने गरेका छन् । जसले गर्दा बिहान र बेलुकाको समय गाउँभरी हुस्से लागेजस्तो गरी धुवाँ फैलिने गरेको छ ।
इटहरीले हाँसपोसा सामुदायिक वनमा र धरानले बाँझागरा सामुदायिक वनमा फोहोर फ्याँक्दै आएको छ । हाँसपोसा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष महेन्द्र गिरी वन समितिको अनुमति नै नलिई उपमहानगरले फोहोर फ्याँकेको बताउँछन् ।
केही समय अगाडि फोहोर फ्याँक्छाँै भनेर अनुरोध गरेको तर पछि सल्लाह गरौँला भन्दाभन्दै धमाधम फोहोर थुपार्ने गरेको गिरीको भनाइ छ ।
इटहरी उपमहानगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मा पाएको ‘वेस्ट एन्ड इन्भारो म्यानेजमेन्ट प्रालि’ सामुदायिक वनमै फोहोर फ्याँकेको स्वीकार गर्छ । इटहरी उपमहानगरले उपलब्ध गराएको ल्याण्डफिल साइटमा प्राविधिकको काम भइरहेकाले जङ्गलमै फोहोर विसर्जन गरेको अध्यक्ष देवेन्द्रकुमार सुब्बाको भनाइ छ ।
उता, धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी ‘भेन्टर वेस्ट टु इनर्जी प्रालि’ सँग फोहोर व्यवस्थापनको सम्झौता भएको बताउँछिन् । दैनिक निस्कने फोहोरबाट बायोग्यासदेखि जैविक मल उत्पादन गर्ने लक्ष्य रहेको उनको भनाइ छ । विगत लामो समयदेखि जङ्लमै फ्याँक्दै आएको फोहोरलाई अब व्यवस्थित गर्न लागिएको उनको तर्क छ ।
इटहरी उपमहानगरको दैनिक ४० टन फोहोर सामुदायिक वनमा थुप्रिने गर्छ । त्यस्तै धरान उपमहानगरको दैनिक सरदर ५० टन फोहोर पनि चारकोशे झाडीमै थुप्रिन्छ । जसले गर्दा करिब १ सय बिघा सामुदायिक वन फोहोरले ओगटेको छ ।
ठूला उपमहानगरको फोहोरका कारण वन्यजन्तु र जङ्गलको विनाश हुने क्रम शुरु भएको छ । मानव बस्तीको नजिकै खोलाकिनारमा फोहोर विसर्जन गरिएकाले बर्खायाममा फोहोर बगेर घरसम्म आउने गरेको स्थानीय बताउँछन् ।
खेतीयोग्य जमिन सिसा, बोतल र प्लास्टिकले भरिएकाले खेती गर्नै समस्या हुन थालेको छ । धरान र इटहरीको फोहोर सेउती खोलाले बगाएर रामधुनी नगरपालिकाको खेतीयोग्य जमिनमा ल्याउँछ ।
शहरको फोहोर व्यवस्थापन हुन नसक्दा त्यसको सिधा असर गाउँबासीमा परेको छ । गाउँको फोहोर उत्पादन नगरे पनि तिनै गाउँलेले फोहोरको असर भोग्नुपरिरहेको छ । त्यतिमात्रै होइन धरान इटहरी सडकखण्डमा बिहान र साँझको समयमा यात्रा गर्ने यात्रुलाई समेत कठीन हुने गरेको छ ।
यसरी प्रदेशका मुख्य शहर मानिएका इटहरी र धरानले फोहोर व्यवस्थापन गर्न नसक्दा जनताको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।