इलामः प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पञ्चायतबाट नफुत्किएको भए अर्को सुखानी शहीद हुने बताएका छन् । इलामको दानाबारी र झापाको खुदुनाबारीको बीचमा रहेको सुखानी शहीद पार्कमा बोल्दै प्रधानमन्त्रीले ओलीले भने, ‘यहाँ ५ शहीदका सालिक छन् । म उहाँहरूसँगै समात्न लाग्दा नफुत्किएको भए अर्को सालिक हुन्थँे ।’
झापाको सिमानामा इलाम जिल्लाको माइ नगरपालिका–४ मा पर्ने सुखानी क्षेत्रमा सुखानीमा मारिएका शहीदहरूको ४६ आँै स्मृति दिवसमा प्रचण्डसँगै आएका ओलीले शहीदका सपना पूरा भएको बताए । उनले भने, ‘पञ्चायत फाल्ने, गणतन्त्र ल्याउने र एक कम्युनिस्ट पार्टी बनाउने सुखानी शहीदका सपना पूरा भएका छन् ।’
नेकपा नेपालको एकमात्र शक्तिकेन्द्र भएको बताउँदै ओलीले अरु साना कम्युनिष्टलाई पनि जोड्न आफू तयार रहेको बताए । सबैलाई हैसियतअनुसारको जिम्मेवारी दिने भन्दै ओलीले सबै कम्युनिस्ट एक हुनुपर्ने बताए ।
ओलीपछि बोलेका प्रचण्डले झापा विद्रोह र रोल्पाबाट उठेको जनयुद्ध एक भएको बताए । आफू पहिले पनि सुखानी आएको र यो पटक एकीकृत कम्युनिष्ट पार्टीको अध्यक्ष भएर आएको उनले बताए ।
कार्यक्रममा प्रदेश नम्बर १ का कानुनमन्त्री हिक्मत पनि सहभागी थिए ।