बेलबारीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार बिहान मोरङको बेलबारी नगरपालिका– १० मा रहेको सिर्जना सामुदायिक वनमा निर्माणाधीन सिर्जना पार्कको अवलोकन गरेका छन् ।
नेपालसहित ६ देशका मूर्तिकारले निर्माण गरिरहेका ढुङ्गाका कलात्मक मूर्ति हेर्दै अध्यक्ष दाहालले ढुङ्गाबाट समेत समृद्धि आउने रहेछ भन्ने पुष्टि भएको बताए । उनले निर्माण भइरहेको पार्कका विषयमा जानकारी लिएका थिए । ढुङ्गाका विभिन्न कलात्मक मूर्तिसँग फोटो खिच्दै उनले पार्कलाई प्राकृतिक खालको बनाउनसमेत सुझाव दिए ।
सिर्जना सामुदायिक वन उपभोक्ता समितिको ३३ बिघा जमीनमा निर्माणाधीन पार्कको पहिलो चरणको कार्यशाला भने आज सकिँदैछ । नेपालसहित भारत, जापान, जर्मनी, बङ्गालादेश र इटालीका मूर्तिकारले अहिले ‘फन पार्क’का लागि ढुङ्गाबाट मूर्ति बनाइरहेका छन् । कार्यशालामा ४२ जना मूर्तिकारले मूर्ति बनाइरहेका छन् ।