बेलबारीः बेलबारी–१० भाउन्नेमा रहेको सिर्जना सामुदायिक वनभित्र जारी सिर्जना अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला– २०७५ मङ्गलबार सकिएको छ ।
सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले एक कार्यक्रमबीच सो कार्यशालाको समापन गरेका हुन् ।
कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, पूर्व मन्त्री गोपी आछामी, बेलबारी नगरकार्यपालिका सदस्यहरु, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख, कार्यशालाका संयोजक धनु याक्खा, चर्चित कलाकार यम बराल लगायत विभिन्न राजनीतिक पार्टी तथा सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
समापन कार्यक्रमलाई मोरङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सांसद समेत रहेका प्रमुख अतिथि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकाल र बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले सम्बोधन गरेका थिए । दुवै जनाले कार्यशाला सफल रूपमा सम्पन्न गरेकोमा आयोजकको प्रशंसा गरेका थिए ।
साथै उनीहरूले आआफ्नो क्षेत्रबाट पार्कलाई पूर्ण सहयोग गर्ने वचनबद्धता पनि व्यक्त गरेका थिए । सो कार्यक्रममा कार्यशालामा सहभागी भएर कलात्मक मूर्ति निर्माण गर्ने कलाकारलाई सम्मान गरिएको थियो ।
सिर्जना सामुदायिक वनक्षेत्रभित्रको ३३ बिघा क्षेत्रफलमा १ करोड ८० लाखको लगानीमा नेपाल, भारत, जर्मन, इटाली लगायतका देशका कलाकारद्वारा विभिन्न कलात्मक मूर्ति निर्माण गरिएका छन् ।