ताप्लेजुङः फुङलिङ नगरपालिकाका उप–प्रमुख बमबहादुर भट्टराई (तारा) ले आफुसंग सम्बन्धित बेरुजु देखिएको रकम असुल तथा फछ्र्यौट गर्ने प्रतिबद्धता जनाएका छन् । उप–प्रमुखका लागि भान्से भनेर नियुक्त बालकुमारी कार्कीका नाममा भुक्तान ९६ हजार रुपैँया नगरपालिकाको सञ्चित कोषमा जम्मा गरिसकिएको प्रेश विज्ञप्तीमार्फत जानकारी दिँदै उनले नियम विपरितका शीर्षक देखिएमा असुल तथा फछ्र्यौट गर्ने गराउँने कार्यमा प्रतिवद्ध भएको जनाएका हुन ।

गएको साउनदेखि मासिक १५ हजार ९ सय ९० रुपैँया प्रदान गर्ने गरि बालकुमारी कार्कीलाई भान्सेमा राखिनु नियमसंगत नभएको लेखा परिक्षणको प्रारम्भिक प्रतिवेदनले जनाए पछि मंगलबार प्रेश विज्ञप्ती मार्फत यस्तो जनाएका हुन । नगरपालिकाको कार्यालयमा मंगलबार पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले व्यक्तिगत र संस्थागत रुपमा आफ्ना कमजोरी भए त्यसलाई सच्याउँदै लैजाने बताए ।

suzuki dharan
सोहि पत्रकार सम्मेलनका क्रममा नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले यस अघि व्यक्तिगत र संस्थागत रुपमा भएका कमीकमजोरीलाई सच्याउँदै लैजाने बताए । आफ्नो घरैमा सम्पर्क कार्यालय व्यवस्थापन लगायतका विषयको चर्चा गर्दै उनले कतिपय कार्य व्यवहारिक रुपमा ठिक देखिएर गरेको तर जानाजान राज्यको नियम कानुन मिच्न भने नचाहेको स्पष्ट पारे । आगामी दिनमा यस्ता कमजोरीलाई सच्याउँदै नगरपालिकालाई समृद्ध तर्फ लैजाने कार्यमा प्रतिवद्ध रहेको जनाउँदै प्याकुरेलले नगरपालिकालाई भ्रष्ट्रचारबाट टाढै राख्ने बताए ।
यस्तै महालेखा परिक्षकको कार्यालयबाट प्रारम्भिक प्रतिवेदन नगरपालिकामा नआउँदै नगरपालिकासंग जोडिएर विभिन्न सञ्चार माध्ययममा समाचार प्रकाशन एवम प्रशारण हुनु दुखद भए पनि यसले नगरपालिकाको टिमलाई नै सच्चिएर काम गर्ने मौका प्रदान गरेको उनको भनाई थियो । यस अघि विभिन्न सञ्चार माध्ययममा नगरपालिकाको अनियमितताबारे समाचार बाहिर आएको थियो ।