भोजपुरः जिल्लामा प्रधानमन्त्री ‘अलैँची जोन’ परियोजना कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
अलैँची खेतीमा किसानको आकर्षण बढिरहेका बेला सो कार्यक्रमले अनुदानसँगै प्राविधिक सहयोग गरेपछि कार्यक्रम प्रभावकारी बनेको हो । सो कार्यक्रमअन्तर्गत जिल्लाका ९८ कृषक समूह तथा कृषि फर्म ‘अलैंची जोन’मा आबद्ध छन् । साथै ३८ समूहले योजना माग गरेको परियोजनाको ‘अलैँची जोन’ कार्यालयले जनाएको छ ।
अलैँची किसानका समस्या समाधानका लागि सहयोग गरेर कार्यक्रमलाई किसान लक्षित बनाइएको छ । ‘अलैँची जोन’का निमित्त प्रमुख खिरप्रसाद राईले विगतमा अलैँची खेतीमा लागेका कृषक समूहलाई जोनमा आबद्ध गराएर कार्यक्रम सञ्चालन गरिएको बताए ।
जिल्लाका ९ वटा स्थानीय तहमध्ये ६ स्थानीय तहका ३० वडामा अलैँची जोन परियोजाना सञ्चालनमा छ । परियोजनाअन्तर्गत अलैँचीको बिरुवासँगै प्राविधिक सहयोग पाएपछि किसान उत्साहित बनेका हुन् । परियोजनाले किसानको घरघरमै पुगेर उनीहरूका समस्या तथा माग गरिएका आयोजनाको अवलोकन गरिरहेको छ । सो कार्यक्रम सञ्चालन भएपछि अझै अलैँचीको उत्पादनमा वृद्धि हुने किसानको भनाइ छ ।
जिल्लाको ६ सय ५० हेक्टर क्षेत्रफलमा अलैँची उत्पादन भइरहेको र अझै एक हजार हेक्टर क्षत्रफलमा विस्तार गर्न सकिने अलैँची जोन कार्यालयले जनाएको छ । उक्त कार्यक्रमअन्तर्गत जिल्लामा ४९ लाख बराबरको कृषक लक्षित कार्यक्रम सञ्चालन हुने बताइएको छ ।