इटहरीः भोजपुरको आमचोक गाउँपालिका घर भई सुनसरीमा बसोबास गर्दै आएकाहरूले आमचोकको विकास निर्माण तथा सहयोग आदानप्रदानका लागि आमचोक सरोकार समाज गठन गरेका छन् ।
उसु प्रशिक्षक राजेन्द्र राईको संयोजकत्वमा आमचोक सरोकार समाज, सुनसरी तदर्थ समिति गठन भएको बताइएको छ । समितिको उपसंयोजकमा व्यवसायी देवराज राई, सचिवमा पत्रकार देवेन्द्र कार्की, सहसचिवमा व्यवसायी दिनेश राई, कोषाध्यक्षमा शिक्षासेवी प्रदीप राई रहेका छन् ।
सम्भव भएसम्म जिल्लाभर रहेका आमचोकवासीहरूलाई समेटने गरी २१ सदस्यीय समिति निर्माण गरिएको बताइएको छ । अन्य सदस्यहरूमा मिलन राई, विश्वराम कार्की, दीपक राई, मणिराम राई, बलराम राई, भविन्द्र राई, कुलबहादुर राई, धनबहादुर राईलगायत रहेका छन् । आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राईको उपस्थितिमा गाउँपालिकालाई सहयोग गर्ने उद्देश्यले समाजको निर्र्माण गरिएको संयोजक राजेन्द्र राईले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष राईले बालङ्खा बजारको मुख्य चोकमा रहेको ऐतिहासिक पोखरीको उत्खनन गरी संरक्षण गर्न लागिएको बताए । आधुनिक पोखरीसहित पार्क निर्माणका लागि गाउँपालिकाबाट १५ लाख बजेट छुट्याएर काम शुरु गरिएको उनले बताए । पर्यटकीय केन्द्रबिन्दु बनाउने उद्देश्यले पोखरीको संरक्षण थालिएको हो । उक्त पोखरी र पार्क निर्माण गर्न २५ लाख आवश्यक परेकाले गाउँपालिकाले आमचोक थातथलो भई देश विदेशमा बस्ने आमचोकवासीलाई सहयोगका लागि अपिलसमेत गरेको छ ।
भेलामा आमचोकमा स्थापना भएको चिया सहकारीमा आमचोकवासी सबैलाई शेयर दिएर आमचोकमा चिया कार्यक्रमम सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिएका छन् । ८२ लाख रकम विनियोजन गरी गाउँपालिकाले २ सय ५० हेक्टर सार्वजनिक जमिनमा १ लाख २० हजार चियाका बिरुवा लगाएको छ ।