इलामः फागुन २१ गते मंगलबार इलामको माई नगरपालिका ४ सुखानी क्षेत्रमा पूर्व प्रधानमन्त्री प्रचण्ड देखी वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्म भेला भएका थिए । २०२९ साल फागुन २१ गतेकै दिन पन्चायतबिरुद्ध आन्दोलनमा उत्रेका झापा विद्रोहका पाँच नेता रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइकेको हत्या भएको स्थानमा भेला हुन सहिद पार्कमा हजारौँ लाइनबद्ध थिए l
सुखानीमा २०७१ सालमा पाँच सहिदको प्रतिमा बनाइएको थियो ।

पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले २०७२ साल फागुन १९ गते सुखानीमा हत्या गरिएका पाँच योद्धाहरूलाई सहिद घोषणा गरेका थिए । र उनै सहिदहरूको ४६ औँ स्मृति दिवसमा भेला हुन आएका हजारौँ झापा र इलामका स्थानीयहरूलाई सानो गेटले भित्र जान असहज भएको थियो ।

वरिपरि घेरा बारा लाइएको सहिद पार्कमा भित्र छिर्न सकस भएको थियो स्थानीयहरूलाई । १२ बजेबाट नै लाइनमा भिड भएको थियो । २ बजे सुरु हुने कार्यक्रममा १ बजे त झनै लामो भिड भएको थियो । मेटल डिटेक्टरले जाँच गर्दै मान्छे छिर्न समस्या भइरहेको थियो । तर, भिडमा अचानक आयो कुर्सी । चार जनाले बोकेला ल्याएको कुर्सी मान्छेका काँच, टाउका र ढाड टेक्दे सबैभन्दा अगाडि गयो । एक घण्टा भन्दा अगाडि बाट लाइनमा बसेका भन्दा छिटो अगाडि पुग्यो कुर्सी ।

यो देखेर लाइनमा सहभागीहरू हैरान देखिए । ‘यो आयोजकको बदमासी हो कुर्सी लाने काम अहिले हैन अघि नै गर्नुपर्ने हो’, एक जना वृद्ध कड्किए । ‘देख्नु भयो जनता भन्दा कुर्सी कत्ति शक्तिशाली छ’, सँगै रहेका ढाका टोपी आएका युवाले थपे, ‘त्यै भएर नेताले जनतालाई भन्दा कुर्सीलाई ध्यान दिन्छन् ।’