धरानः किरात राई यायोख्खाले १६ बुँदे धरान घोषणापत्र जारी गर्दै १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ ।
बुधबार धरान–१० स्थित यलम्बर स्मृति भवनमा पत्रकार सम्मेलन गर्दै यायोख्खाले धरान घोषणापत्र जारी गर्दै नयाँ कार्यसमिति सार्वजनिक गरेको हो । यायोख्खाले प्रदेश नम्बर १ लाई किरात प्रदेश नामकरण गर्न माग गरेको छ ।
यायोख्खाका नवनिर्वाचित अध्यक्ष दिवस राईले किरात प्रदेशको राजधानी धरान हुनुपर्ने बताएका छन् । किरात प्रदेश नामङ्कन नभए पहिचानवादीहरूसँग मिलेर विशिष्ट प्रकारको आन्दोलन गर्ने यायोख्खाको घोषणापत्रमा उल्लेख छ ।
यायोख्खाले किरात लिपि कार्यान्वयनका लागि कार्यदल बनाएर प्रयोगमा ल्याउने भएको छ भने प्रदेशको सम्पर्क भाषाको रूपमा किरात राईहरूका भाषामध्ये बान्तवा वा चाम्लिङ भाषा र स्थानीय पालिकाहरूमा अन्य राई भाषाहरु कामकाजी भाषाको रूपमा प्रयोगमा ल्याउन पनि माग गरिएको छ ।
घोषणापत्रमा राष्ट्रिय जनगणना २०७८ मा थरको महलमा राई र धर्मको महलमा किरात लेख्न पनि आग्रह गरिएको छ । यायोख्खाले बहुभाषिक शिक्षाको पनि माग गरेको छ । धर्मका नाममा हुने सबैखाले अपराध र विभेद बन्द गर्न पनि माग गरेको छ । घोषणापत्रमा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न पनि माग गरेको छ ।
घोषणापत्रमा भोजपुरको हतुवागढी र खोटाङको मझुवागढीमा रहेको नेपाली सेना र सशस्त्र प्रहरीको ब्यारेक हटाउन पनि माग गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित अध्यक्ष दिवस राईले कार्य समिति ८१ सदस्यीय हुने बताएका छन् ।