इटहरीः नेपाल रेडक्रस सोसाइटीले भूकम्प र आगलागीबाट कसरी बच्न सकिन्छ भनेर अभ्यास गरेर देखाएको छ । युवा रेडक्रस सर्कल जनता बहुमुखी क्याम्पस शाखाले आयोजना गरेको कार्यक्रममा विपद व्यवस्थापनको व्यावहारिक अभ्यास सिकाइएको हो ।
विपद कुनै पनि बेला आउन सक्ने भन्दै त्यसको पूर्वाभ्यास गरिएको युरेसका अध्यक्ष सहदेव काफ्लेले बताए । गर्मीयाम शुरु भएसँगै तराइका क्षेत्रमा आगलागीका घटना हुन सक्ने भन्दै त्यस्तो अवस्थामा कसरी सुरक्षित हुने भनेर पूर्व तयारी गराइएको उनको भनाइ छ ।
विपदको समयमा सर्वसाधरण डराउने र आत्तिने गर्नाले अस्वभाविक क्षति हुने भन्दै नआत्तिन र ज्यान बचाउन सकिने उपायको विषयमा व्यावहारिक प्रस्तुति गरिएको बताइएको छ ।
नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोलीले आगलागी, भूकम्प, कुनै खोचमा परेको व्यक्तिलाई कसरी उद्धार गरिन्छ भन्ने विषयलाई विभिन्न उद्धार उपकरणको प्रयोग गरेर वास्तविक घटनाको जस्तै गरी अभ्यास गरेर देखाएको थियो ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले विपद जुनसुकै बेला आउन सक्ने भन्दै त्यसको तयारीको लागि गरिएको पूर्वाभ्यास सह्रानीय रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि कार्कीले यसैगरी पूर्व तयारी र विपद व्यवस्थापनको अभ्यास सम्पूर्ण जनतामा सिकाउन सके धनजनको क्षति कम गर्न सकिने बताए ।
युरेसले नै गरेको रक्तदान कार्यक्रममा ८६ प्रिन्ट रगत सङ्कलन भएको अध्यक्ष काफ्लेले जानकारी दिए ।