इटहरीः हलगडा–खाद्यगोदाम जोडने सडकखण्डमा उपमहानगरपालिकाको बजेट मार्फत् भइरहेको सडक निर्माणमा वडाध्यक्षले मनपरी मापदण्ड बनाएर सीमा नछुट्याई व्यक्तिगत सम्पत्तिमा तोडफोड गरेको भन्दै उपमहानगरपालिकामा मुद्दा परेको छ ।
सडकखण्ड अन्तर्गत इटहरी वडा नम्बर ५ स्थित ढप्की रामजानकी मन्दिर दक्षिण मदन मार्गमा ड्रेन बनाउँदा जबरजस्ती बाटो बनाएको भन्दै जग्गा छुट्याइपाउँ भनी उपमहानगरमा मुद्दा परेको हो ।
आफूहरूले बाटोलाई ठाउँ छाड्नुपर्नेमा छाडेको तर वडा कार्यालय र उपभोक्ता समितिको रोहबरमा व्यक्तिगत सम्पत्तिमा आफूखुसी डोजर लागाएको आरोप उनीहरूले लगाएका हुन् ।
वडा नम्बर ५ को वडा कार्यालय र बाटो निर्माण उपभोक्ता समितिलाई विपक्षी बनाउँदै स्थानीय ९ जनाको हस्ताक्षरमा न्यायिक समितिमा मुद्दा दायर भएको हो ।
मुद्दामा वडा कार्यालयका प्रतिनिधि तथा उपभोक्ता समितिका सदस्यको रोहबरमै प्रशस्त चौडा सडक भएको ठाउँमा समेत डोजर ल्याएर एकातर्फी रूपमा नियोजित तरिकाले नम्बरी जग्गाको घर संरचनालाई असर हुने गरी प्राविधिक सल्लाहबिना नै काम गरेको बताइएको छ ।
‘हामीले पटकपटक विकासको नाममा जथाभावी नगर्न आवाज उठाइरह्यौँ । प्राविधिकको सल्लाह अनुसार काम गरौँ भन्दा धमाधम डोजर ल्याएर खन्न थालियो’ स्थानीय गोपाल गिरीले भने, ‘सम्पत्तिमाथि धेरै नै प्रहार भएपछि बाध्यताले न्यायिक समितिमा निवेदन दिनुपर्ने अवस्था आयो ।’
कतै ४० फिट कतै भने ९० फिट भएको ठाउँमा समेत बाटो बढाउने नाममा बिनाजानकारी व्यक्तिगत रूपमा खनेको आरोप स्थानीयले लगाएका छन् ।
यता वडाध्यक्ष कल्याण कार्कीले भने सडकको नक्साअनुसार नै काम हँुदै आएको बताएका छन् । नक्सामा काम भएको ठाउँमा स्थानीय सम्बन्धितलाई राखेर ४० फिट नै पुर्याइएको र ४० फिट भन्दा माथि भएको ठाउँमा भने नक्साअनुसार नै काम गरेको कार्कीले बताए ।
‘यो पहिले नै सहमति भएको विषय हो । सार्वजनिक सम्पत्तिको प्रयोग उपमहानगरले गर्छ’, कार्कीले भने, ‘स्थानीयहरूको लालपुर्जा अनुसारको जग्गा पुर्याएर नै बाटो बनाउने छौ ।’
उता, पीडित पक्षको भने फरक भनाइ छ । ‘संविधानप्रदत्त सम्पत्ति खरिद गर्ने र बसोबास गर्ने मौलिक हकलाई बाटो चौडा गर्ने नाममा खोस्न खोजिएको छ’, पीडित पक्षले नगरपालिकामा दिएको निवेदनमा भनिएको छ, ‘हाम्रो सम्पत्तिमाथि थिचोमिचो गरी साह्रै अन्यायमा पारिएकाले न्यायप्राप्तिको लागि निवेदन गर्न आएका छौँ । तसर्थ विपक्षी झिकाएर सीमा विवाद टुङ्गयाईपाऊँ ।’