खोटाङः शहीद दिलकाजी, ठूलकुमार स्मृति प्रतिष्ठानको भवन शिलान्यास गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल भवनगैरामा निर्माण गर्न लागिएको भवन दिलकाजीकी आमा जयन्तादेवी कार्की, ठूलकुमारकी श्रीमती शान्ता श्रेष्ठ र प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले एकैसाथ शिलान्यास गरेका हुन् ।
साबिकको नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय रहेको स्थानमा प्रतिष्ठानको नाममा रहेको ६ आना जग्गामा भवन बन्ने प्रतिष्ठानका अध्यक्ष सुरेश राईले बताए । भवन निर्माणका लागि प्रदेश सरकारबाट २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
तत्कालीन माओवादीका क्षेत्रीय ब्युरो सदस्य दिलकाजी र उनकी श्रीमती इन्दिरा कार्कीलाई २०५९ असार ३१ गते सिम्पानीबाट नेपाली सेनाले गिरफ्तार गरी एकैदिन टुवाखोलामा र जिल्ला सदस्य ठुलकुमार श्रेष्ठलाई पार्टीको कामको सिलसिलामा २०५५ पुस २७ गते उदयपुरको तावाश्रीमा गोली हानी हत्या गरिएको थियो । प्रतिष्ठानले शहीद सप्ताह समापन समारोहको अवसरमा सो भवन शिलान्यास गरेको हो ।