खोटाङः माझी समुदायको प्रमुख चाड कोशी पूजा तथा प्रथम जिल्ला अधिवेशन खोटाङको लामीडाँडामा शुरु भएको छ । जिल्लाभरका माझी समुदाय लामीडाँडाको रभुँवाघाटस्थित दूधकोशीमा भेला भएर कोशी पूजा गर्दै अधिवेशनमा सहभागी भएका छन् ।
जिल्लाकै सबैभन्दा बढी माझी समुदायको बसोबास रहेको रभुँवाघाटमा आयोजित कार्यक्रम प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरे । माझी समुदायको सांस्कृतिक झाँकीसहित आयोजना गरिएको पूजा तथा अधिवेशनमा जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, रावाबेँसी गाउँपालिकाका प्रमुख लीलानाथ निरौला, नेपाली काङ्ग्रेसका युवा नेता सुवासकुमार पोखरेल, पत्रकारलगायतको उपस्थिति थियो ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने आयोजक समितिका उपाध्यक्ष उमेश माझीले बताए । २०६८ सालको जनगणनाअनुसार खोटाङमा ९ सय ८० जना माझी समुदाय रहेको तथ्याङ्क छ ।