सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । सो बजेटलाई लिएर सकारात्मक र नकारात्मक दुवै किसिमका प्रतिक्रिया आएका छन् । समग्रमा बजेट कस्तो छ भन्ने जानकारी लिन पूर्वका विभिन्न क्षेत्रका व्यक्तिसँग खेमचन्द्र अधिकारीले लिएको टेलिफोन वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
व्यापारघाटा कम हुने निश्चित
नवराज चापागाईं, (अध्यक्ष) कोशीहरैंचा उद्योग वाणिज्य संघ सुन्दरहरैंचा
समग्रमा बजेट उपलब्धिमूलक छ । बजेटले ऊर्जा, कृषि, स्वास्थ्य, पर्यटन आदि क्षेत्रलाई प्राथमिकता दिएको छ जुन एकदमै सकारात्मक पक्ष हो । अलि बढी महत्वाकांक्षीजस्तो पनि देखिन्छ । शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिने, महिला उद्यमशीलताका लागि कर्जा दिने आदि कार्यक्रम प्रचारमुखी मात्रै नहोऊन् । ज्येष्ठ नागरिकको लागि १ लाखसम्मको औषधोपचारको व्यवस्था गरिनुले बजेट ज्येष्ठनागरिकमैत्री पनि रहेको छ । ऊर्जामा धेरै लगानी गर्ने घोषणा भएकाले व्यापार घाटा कम हुने निश्चित छ । व्यापार घाटा कम भयो भने लगानीको प्रतिफल बढी हुने हुनाले आर्थिक समृद्धितर्फ अघि बढ्न सक्ने देखिन्छ । शक्तिशाली सरकारले ल्याएको बजेट भएको हुनाले यसको कार्यान्वयनमा कुनै शंका छैन ।
उद्योगीव्यवसायीमैत्री बजेट
मुकेश उपाध्याय,
अध्यक्ष
उद्योग संगठन, मोरङ
बजेट एकदम उत्साहजनक छ । हामीले सर्सर्ती हेर्दा बजेट उद्योगीव्यवसायीमैत्री रहेको छ । प्रत्येक प्रदेशमा औद्योगिकग्राम स्थापना गर्ने घोषणा स्वागतयोग्य छ । निर्यातमुखी उद्योगलाई प्रोत्साहन गर्ने अनि १ सय जनाभन्दा बढीलाई रोजगारी दिने उद्यमीलाई सम्मान गरिने घोषणा पनि बजेटमा उल्लेख भएको छ । सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगले बढी लाभ लिन सक्ने देखिन्छ । पूर्व क्षेत्रमा भएका उद्योगको क्षमता बिस्तार गर्न उद्योगीलाई सघाउ पुग्ने किसिमको बजेट आउने भएको छ । विराटनगरमा रहेको एयरपोर्टलाई क्षेत्रीय स्तरको एयरपोर्ट बनाइने अनि अन्तरराष्ट्रिय उडानको समेत व्यवस्था गरिन लागेकाले पूर्वको पर्यटन क्षेत्रको विकास र बिस्तारमा पनि यसले सहयोग पुग्ने देखिन्छ । करको दायरालगायतका करसम्बन्धी विभिन्न विषयको बारेमा भने विस्तृतमा जानकारी लिन पाएको छैन । महिला उद्यमी र घरेलु उद्यमीका लागि बजेटले राम्रो साथ दिएको देखिन्छ । विराटनगरमा बनाइने रिङरोडको लागि बजेट छुट्याएको नपाइए पनि नियमित बजेटमा त्यस शीर्षकमा बजेट विनियोजन हुने अपेक्षा गरेका छौं ।
उपभोक्तालाई मारमा पार्ने किसिमको बजेट
पवनकुमार सारडा
अध्यक्ष
मोरङ व्यापार संघ
यो बजेट हामीले अपेक्षा गरेअनुसारको आएन । रोजगारी सिर्जना गर्ने किसिमको बजेट आएको छैन । करको दायरा बढाइएको छ जसको असर सीमा नाकामा पर्छ । नेपालमा उपभोग्य वस्तुको मूल्य बढ्ने देखिन्छ जसले तस्करी बढ्ने निश्चित छ । २ तिहाइ बहुमतको बलियो सरकारले ल्याउने बजेट पनि मजबुत हुन्छ भन्ने हामीले सोचेका थियौँ तर त्यसअनुसार बजेट आएन । उपभोक्तालाई मारमा पार्ने गरी बजेट आएको छ । दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न जाँदा उपभोक्ताको क्रयशक्ति घट्न पुग्छ जसले गर्दा उद्योगले कम उत्पादन गर्नुपर्ने हुन्छ । कतिपय उद्योग बन्द पनि हुन सक्ने सम्भावना देखिन्छ ।
मध्यमवर्गीय नेपालीलाई राहत छैन
दयाराम खवास, अटो व्यवसायी, सुन्दरहरैंचा
बजेटमा उल्लेख भएअनुसार सरकारले २ पाङ्ग्रे र ४ पाङ्ग्रे सवारी साधनमा कर बढाउने भएको छ । यसले उपभोक्तामा मार पर्छ । जसको असर अटो व्यवसायीमा पनि पर्छ । मोटरसाइकलको क्षमताअनुसार ५ हजारदेखि ५ लाखसम्म मूल्य बढ्न सक्ने देखिन्छ । अटो व्यवसायीले अपेक्षा गरेभन्दा उल्टो बजेट आएको छ । सरकारले सवारी चालक अनुमतिपत्रको वितरण गर्न नसक्दा मारमा परेका अटो व्यवसायीलाई झन् मारमा पार्ने गरी बजेट आएको छ । करको विषयमा पुनर्विचार गरी मध्यमवर्गीय नेपालीलाई राहत दिनुपर्ने देखिन्छ ।
पर्यटनको क्षेत्रमा धेरै काम गर्न सकिने
सुरेश बस्नेत
सञ्चालक
रिभर डिप ¥याफ्टिङ, इटहरी
बजेट समग्रमा राम्रै आएको छ । पर्यटन क्षेत्रको लागि धेरै रकम विनियोजन गरिएको बजेटले जल यातायातको लागि पनि रकम उपलब्ध गराउने भएको छ । यसबाट जल पर्यटनकर्मी बढ्ने विश्वास गर्न सकिन्छ । कार्यान्वयन पक्ष राम्रो भयो भने देशमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न सक्ने देखिन्छ । पर्यटन आफैँमा उद्योग हो । यसको लागि कच्चा पदार्थको आवश्यकता पर्दैन । प्रकृतिप्रदत्त वस्तुको बजारीकरण गर्न सकियो भने कम खर्चमै पर्यटन क्षेत्रबाट बढी लाभ लिन सकिन्छ । वर्तमान सरकारले यो तथ्य बुझेर सोहीअनुसार बजेट विनियोजन गरेको देखिन्छ । सरकारको समर्थन पाएमा पर्यटनकर्मीले देशको विकासमा धेरै योगदान दिन सक्छन् । सरकारले यो तथ्य बुझेको देखिन्छ । पर्यटन क्षेत्रको लागि आवश्यक पर्ने जनशक्ति मात्रै उत्पादन गर्न सकियो भने पर्यटनको क्षेत्रमा धेरै काम गर्न सकिन्छ ।
घरेलु तथा साना उद्योगीका धेरै माग सम्बोधन
राजेन्द्रकेशरी घिमिरे
अध्यक्ष
नेपाल घरेलु तथा साना उद्योग महासंघ सुनसरी
घरेलु तथा साना उद्योगीका धेरै माग सम्बोधन भएका छन् । आगामी ३ वर्षभित्रमा प्रत्येक स्थानीय तहमा निजी क्षेत्रको समेत साझेदारीमा औद्योगिकग्राम स्थापना गर्ने लक्ष्य सरकारको छ । घरेलु उद्योग दर्ता गर्न र सञ्चालन गर्न यसले ठूलो सहयोग पुग्ने निश्चित छ । यसले के हुन्छ भने उद्योगीले जग्गामा लगानी गर्नुपर्दैन । त्यस्तै भौतिक पूर्वाधार निर्माणमा पनि उद्योगीले लाग्नुपर्दैन । यसले गर्दा उद्योगको खर्च कम हुन्छ । रुग्ण घरेलु तथा साना उद्योगलाई सहकारीमार्फत् वा निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्ने भन्ने निर्णय पनि स्वागतयोग्य छ । महिला उद्यमीलाई १५ लाख रुपैयाँसम्म ऋण कम ब्याजमा दिइने निर्णय अर्को महत्वपूर्ण निर्णय हो । शैक्षिक बेरोजगारलाई प्रमाणपत्र धितो राखी दिइने कर्जाले पनि साना तथा घरेलु उद्योगी बढाउने निश्चित छ । नेपालमै पाइने कच्चा पदार्थमा आधारित भएर कृषि तथा वन क्षेत्रसँग सम्बन्धित उद्योग खोल्ने सरकारको निर्णयले घरेलु उद्योगीलाई खुशी दिएको छ । स्वदेशी उद्योगको प्रवद्र्धन हुने विश्वास महासंघले गरेको छ ।
पूँजीबजारको क्षेत्रमा बजेट सकारात्मक छ
योगेन्द्र पौडेल
इटहरी शाखा प्रबन्धक
नीभ सेक्युरिटिज प्रालि
पूँजी बजारको विषयमा बजेटले राम्रो सम्बोधन गरेको छ । पूँजी बजारको बिस्तारको लागि धितोपत्र ऐनमा समयानुकूल सम्बोधन गरिने भनिएको छ । १ अर्ब वा सो भन्दा बढी पूँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीलाई पब्लिक लिमिटेडमा रूपान्तरण गर्ने अनि ५० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले आइपिओ जारी गरे ३ वर्षसम्म आयकर छुट दिइने निर्णय गरिनु पूँजी बजारको लागि सकारात्मक पक्ष हो । पूँजीगत लाभकर वृद्धिबाहेक अन्य सबै कदम पूँजी बजारको बिस्तारको लागि चालेको देखिन्छ । यसले नेपाली पूँजी बजार वृद्धि गर्न सहयोग पुग्ने देखिन्छ ।
बजेटले सबै क्षेत्र समेटेको छ
जीवन पराजुली
अध्यक्ष
होटल व्यवसायी संघ, इटहरी
ठूलो आकारमा आएको यो बजेट समग्रमा राम्रै छ । सबै क्षेत्रलाई समेट्ने गरी बजेट आएको छ । होटल व्यवसायी संघले यसलाई सकारात्मक रूपमा लिएको छ । पर्यटन क्षेत्रको लागि सरकारले धेरै बजेट छुट्याउनुका साथै भिजिट नेपाल २०२० अभियान सञ्चालन गर्नुका साथै पहिले देश अनि विदेशको भावना अनुरूप आन्तरिक पर्यटन प्रवद्र्धन गर्न अभियान चलाइने उल्लेख गरिएको छ । होटल व्यवसाय भनेको पर्यटन क्षेत्रसँगै जोडिएको व्यवसाय हो । पर्यटकीय क्षेत्रको पहिचान गरी प्रचार गर्न होटल व्यवसायी संघले सक्दो पहल गर्ने छ । स्थानीय सरकारसँग मिलेर हस्पिटालिटीको क्षेत्रमा हामी काम गर्न तयार छौं ।