धरानः एक नम्बर प्रदेशका इसाई धर्मलम्बीको साझा संस्था इसाई समाजको पाँचाँै महाधिवेशन फागुन २१ र २२ गते धरानमा सम्पन्न भएको छ । सो महाधिवेशनले इटहरीका विक्रम वर्णवास यक्तेनको अध्यक्षतामा ५१ सदस्यीय समिति चयन गरेको छ ।
आगमी ३ वर्षको कार्यकाल रहेको समाजको उपाध्यक्षमा एनोश गजमेर, विकास राई र विनोद मुर्मु रहेका छन् । त्यसैगरी, समाजको महासचिवमा मेहरमान ह्यूज, सचिवमा भिक्टोर सुनुवार र पूर्ण सुनुवार निर्वाचित भएका छन् । समाजको कोषाध्यक्षमा जमुना खड्का, सहकोषाध्यक्षमा सुनिता श्रेष्ठ रहेका छन् ।
सदस्यहरूमा राकेश चौधरी, कमला लिङ्देन, कुविरमान राई, डि.बी राई, दानिएल भट्टराई, फिलिप श्रेष्ठ लगायतका रहेका छन् ।
यसअघि पूर्वाञ्चल इसाई समाजको नाममा सङ्गठित समाजमा पूर्वी नेपालका सबै जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षक गरी ५ सय भन्दा बढीको सहभागिता रहेको थियो । समाजले इसाई धर्मावलम्बीसम्बन्धी ज्ञान बढाउन तथा विभिन्न आपतविपत र विकास निर्माणमा सहकार्य गर्दै आएको नवनिर्वाचित अध्यक्ष यक्तेनले बताए । आगमी दिनमा समाजले विभिन्न भातृ समाजको गठन गरी असल प्रकारले समाजमा काम गर्ने पनि उनले बताए ।
समाजको महाधिवेशनमा एक नम्बर प्रदेशसभाका उपसभामुख सरस्वती पोखरेल (शारदा) ले सम्बोधन गरेकी थिइन् । उनले इसाई समाजले सकरात्मक सोचले विभिन्न कार्यक्रम सञ्चालन गरेका कारण अन्य समुदायमा समेत सहयोगी भावना वृद्धि भएको बताइन् । उनले भनिन्, ‘प्रभु येशु ख्रीष्टका अनुयायीहरू येशु ख्रीष्टजस्तै परोपकारी, सहयोगी बनेर अन्याय र अत्याचारको विरुद्ध बलिदान गर्न सक्नुपर्छ । इसाईहरूले धर्म प्रचार भन्दा पनि सेवा र सहकार्यमा जोड दिनुपर्छ ।’
निर्वाचित नयाँ पदाधिकारी तथा समितिलाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल ख्रिष्टियन पत्रकार सङ्घका अध्यक्ष गिदोन लामिछानेले इसाईहरूबीच पनि थुप्रै सङ्गठन र समाज रहेकाले सबैलाई एकतामा समेटेर अघि बढ्न सुझाव दिए । उनले इसाईहरू एकताबद्ध भई समाजका सबै धार्मिक समुदायबीच सद्भाव कायम राख्दै सहकार्य र एकताबाट मुलुकको समृद्धि तथा विकास हुने बताए । पूर्व क्षेत्रमा मात्रै ५ हजार भन्दा बढी चर्च र ३ लाख ख्रिष्टियन रहेको ख्रिष्टियन सङ्घ संस्थाको दाबी छ ।