धरान: धरान –८ स्थित ल्याबोरेटरी माध्यमिक विद्यालयका प्रधानाध्यापक (हेडमास्टर) रुद्रबहादुर लुङ्वाले कक्षा–९ मा अध्ययनरत् छात्रालाई गर्भवती बनाएको रहस्य सार्वजनिक भएको छ ।
प्रधानाध्यापक लुङ्वाले गत वर्ष एक जना महिलालाई कक्षा–८ मा भर्ना गरेका थिए । विद्यालय स्रोतका अनुसार अन्दाजी ३५ वर्ष उमेर समूहकी देखिने ती महिलालाई कक्षा–८ मा भर्ना गरेपछि विद्यालयका शिक्षकले विभिन्न अनुमान गरेको विद्यालयका एक शिक्षकले बताए ।
तर प्रअ लुङ्वाले कक्षा–८ पढेर छाडेको र फेरि पढ्ने इच्छा देखाएकाले आफूले भर्ना गर्न ल्याएको शिक्षक कर्मचारीलाई बताउने गरेका थिए । ‘विद्यालयमा भर्ना भएपछि हामीले विद्यार्थीकै रूपमा लिनु प¥यो तर उनी प्रायः प्रअको कोठामा हुन्थिन् ।’ विद्यालयका एक कर्मचारीले भने ।
‘ती छात्रा दुई बच्चाको आमासमेत रहेको हामीले सुनेका छौं ।’ ती कर्मचारीले भने । प्रअ लुङ्वा फागुन–१२ गतेदेखि बिदामा बसेका छन् । उनी घर बिदा लिएर बसेका हुन् । उनको बिदा फागुन २३ गते सकिदै छ ।
प्रअ लुङ्वाले विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक समितिसामू आफूबाट गल्ती भएको स्वीकार गरेका छन् । ‘सरले आफूबाट गल्ती भएको स्वीकार गर्नुभएको छ, हामीले यहाँ भन्दा बढी बोल्न मिल्दैन ।’ विद्यालयका शिक्षक केशवप्रसाद अधिकारीले भने ।
उता विद्यालयका प्रधाानाध्यापकले प्रदेशपोर्टलसँग कुरा गर्दै आफूबाट गल्ती भएको स्वीकार गरे । ‘कक्षा–८ मा मैले नै भर्ना गरेको हो उनले कक्षा–९ मा भर्ना गरेकी छैनन्,’ लुङवाले भने, ‘उनको पेटमा भएको बच्चा पनि मेरै हो, उनलाई सहयोग गर्ने क्रममा नजिकिएपछि यस्तो भएको हो ।’
प्रअ लुङ्वाले नैतिकताका आधारमा विद्यालयबाट बिदा लिएको बताए । ‘अब मेरो नैतिकताले पनि त्यो विद्यालयमा गएर काम गर्न मिल्दैन, म अन्यत्र जान खोज्दै छु ।’ उनले भने ।
कानुनले दिने सजाय भोग्न आफू तयार भएको प्रअ लुङ्वाको भनाइ छ । उनले भने, ‘म मेरो परिवार र ती महिला (छात्रा) प्रति जिम्मेवार छु, जिम्मेवारी लिन्छु ।’




















