विराटनगरः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेता शेखर कोइरालालाई पटक पटक सम्झाउँदा पनि आफू विरुद्ध बोलिरहेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले आफूले घरमै बोलाए पनि नसम्झिएको बताए ।
’मैले कति पटक सम्झाए’ उनले भने– ‘एक पटक त घरमै बोलाएँ पनि तर नथाकेपछि मैले पनि जवाफ दिएको हुँ ।’
आफू विरुद्ध सार्वजनिक अभिव्यक्ति दिइरहँदा कारबाही होला त भन्ने पत्रकारको जिज्ञासामा उनले काँग्रेस भित्र बोल्दैमा कारबाही नहुने बताएका छन् । ‘पार्टीमा बोल्न नपाउने भन्ने कुरै छैन, बोल्दैमा कारबाही हुँदैन । उनले भने ।
बोल्न छुट भए पनि कोइराला व्यक्ति केन्द्रित आरोप लगाउन लागि परेको बताए । शशाङ्क र सुजाता कोइराला त्यसरी नउत्रिए पनि शेखर मात्र बोल्दै हिँडेको बताए ।
उनले सबैलाई पाटी प्रतिको उतिकै माया भएको हुँदा सबै समान हैसियतमा रहेको र महाधिवेशनमा सबै जना उठ्न पाउने बताए ।
देउवा विराटनगरबाट प्रकाशित हुने न्यू सृष्टि दैनिकको वार्षिक उत्सवमा सहभागी हुन र कार्यकर्तासँग भेटघाट गर्न विराटनगर आएका हुन ।