धनकुटाः ‘घरमा जे पकाइन्छ विद्यालयमा त्यही खाइन्छ’ अहिले धनकुटाको महालक्ष्मी नगरपालिकाका सामुदायिक विद्यालयमा यो नारा प्रचलित छ । सामान्यत विद्यालयमा विद्यार्थीहरूले दिउँसो खाजाको रूपमा जङ्क फुड प्रयोग गर्ने चलन बढ्दो छ । तर धनकुटाको महालक्ष्मी नगरपालिकाले भने बालबालिकाको स्वास्थ्यमा असर पु¥याउने भन्दै जङ्क फुड विस्थापित गर्ने अभियान शुरु गरेको हो ।
शिशुदेखि कक्षा ३ सम्मका विद्यार्थीका लागि विद्यालयमा जङ्क फुड विस्थापित गरी घरमा जे पकाइन्छ त्यही नै विद्यालयमा खाजाका रूपमा प्रयोग गराउने अभियान नगरपालिकाले शुरु गरेको हो । घरकै स्वस्थ खाजा खाने बानीको विकास गरेर विद्यार्थीलाई पढाइमा केन्द्रित गराउन यो अभियान ल्याइएको मेयर पर्शुराम नेपाल बताउँछन् ।
‘हामी बालबालिकाको स्वास्थ्यप्रति विशेष संवेदनशील छौं । उसले स्वस्थ खानेकुरा खान पायो भने मात्र शारीरिक र मानसिक विकास हुन्छ’, नेपालले भने, ‘त्यसैले यो कार्यक्रम अघि सारेका हौँ ।’
यो अभियानलाई सफल बनाउन नगरपालिकाले आफ्नो वार्षिक कार्यक्रम नै सार्वजनिक गरी यस वर्ष २ हजार १ सय वटा खाजा बोक्ने ‘टिफिन क्यारी’ वितरण गरेको छ । माघ १ गतेबाट नगरका ५३ सामुदायिक विद्यालयका ३ कक्षासम्म यो नियम लागू गरिएको हो । वितरण गरिएको टिफिन क्यारीमा घरमा पाक्ने कुरा मात्र लगाएर खाजाका रूपमा विद्यालय पठाउन अभिभावकलाई आग्रह समेत गरिएको उनले बताए ।
जङ्क फुडले पेट नभरिने तथा स्वास्थ्यलाई असर गर्ने भएकाले घरमै पाक्ने कुरा खाजाको रूपमा प्रयोग गर्न सुझाइएको उपमेयर मञ्जुकुमारी कार्कीले बताइन् ।
साना उमेरका बालबालिकाले खाजाकै कारण बेलुकीका कक्षा नियमित रूपमा लिने गरेका थिएनन् । तर यो कार्यक्रम सुरु भएपछि टिफिन पछाडि पनि विद्यार्थीको नियमितता बढेको सम्बन्धित स्कुलले बताएका छन् ।
यही कार्यक्रमकै कारण विद्यार्थीको नियमितता बढ्नुको साथै बालबालिकाका आमाबुवाले पनि विद्यालय समयभर आफ्ना बालबालिका विद्यालयमै छाड्ने गरेको नागेश्वर माध्यमिक विद्यालय लेगुवाका प्रधानाध्याक दीपक निरौला बताउँछन् ।
‘बालबालिका टिफिन पछाडिका कक्षामा खासै बस्दैनथिए । अभिभावक नै आएर बालबालिका लैजान्थे’, निरौला भन्छन्, ‘तर अहिले अभिभावकले पनि ढुक्क भएर विद्यालय समयभर आफ्ना बालबालिका छाड्ने गरेका छन् ।’
अरु नगर वा गाउँपालिकाले विद्यालयमा खाजा कार्यक्रम चलाएर खाजाका रूपमा चिउरा, भुजाजस्ता सुख्खा खानेकुरा वितरण गरिरहँदा यो नगरपालिकाले भने टिफिन क्यारी नै वितरण गरेर घरमा पाकेकै कुरा खुवाउने अभियान शुरु गरेको हो ।
कार्यक्रम शुरु भएपछि बालबालिका पनि निकै उत्साहित छन् । उनीहरू घरमै पाकेको खानेकुरा लिएर आउँछन् र सबै एकै कोठामा बसेर खान्छन् । प्राय सम्पूर्ण विद्यालयले विद्यार्थीलाई खाजा खुवाउन बेग्लै कोठाको व्यवस्था पनि गरेको मेयर नेपालले बताए ।