विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारिता क्षेत्रले जनताका मन र विश्वास जित्ने काममा लाग्नुपर्ने बताएका छन् । उनले सामाजिक परिवर्तनमा पत्रकारिता क्षेत्रले दिएको योगदान सराहनीय रहेको पनि बताए ।

विराटनगरबाट प्रकाशित हुने ‘न्यु सृष्टि दैनिक पत्रिका’को आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राईले मुलुकमा अब सबै किसिमका अप्ठ्यारा पार भइसकेकाले विकास र समृद्धिको यात्रामा अघि बढ्ने बेला भएको बताए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सत्तापक्ष र प्रतिपक्षले एकआपसमा सहमति गरेर नै अघि बढ्नुपर्ने धारणा राख्दै प्रदेशसभाको तेस्रो अधिवेशनले प्रदेश नं १ को राजधानी र नाम पनि टुङ्गो लगाउने बताए ।

क्रिकेट खेलाडी पारस खड्का र हास्यकलाकार मनोज गजुरेलले मुलुकमा शान्ति स्थापना गर्न र विकासका काममा एकजुट हुन सबै लाग्नुपर्ने बताए । कार्यक्रममा पत्रिकाका प्रकाशक एवं प्रधान सम्पादक शङ्कर खरेलले पत्रिकाले आफ्नो स्थापनाकालदेखि नै देश र जनताका लागि समाचार पस्किरहेको बताए ।

सोही कार्यक्रममा राष्ट्रिय क्रिकेट खेलाडी पारस खड्का, हास्यकलाकार मनोज गजुरेल, गायक कलाकार रामा मण्डल, गायिका आनी छोइङ डोल्पा, डा ज्ञानेन्द्रमानसिंह कार्की र सञ्चारकर्मीद्वय कुमार लुइँटेल र गोपाल काफ्लेसहित २१ जनालाई पुरस्कृत गरिएको थियो ।