विराटनगरः नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्राविना लोकतन्त्रको महत्व नरहने बताएका छन् ।

विराटनगरबाट प्रकाशित हुने ‘न्यु सृष्टि दैनिक पत्रिका’को आठौँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उनले लोकतन्त्रमा प्रेस स्वतन्त्रताको अन्योेन्याश्रित सम्बन्ध रहेको बताए ।

सभापति देउवाले नियमनको नाममा सामाजिक सञ्जालमा सरकारले नियन्त्रण गर्न खोज्नु लोकतन्त्रको मूल्यमान्यताविपरीत भएको बताए । उनले सङ्घीयता अब नेपालको वास्तविकता भइसकेको प्रसङ्ग उल्लेख गर्दै सङ्घीयतालाई पूर्णता दिन अझै विधेयक र कानुन बन्नुपर्ने बताए । सभापति देउवाले प्रतिपक्षको भूमिकामा रहेको काङ्ग्रेस अब सशक्त भूमिका निर्वाह गर्ने तयारीमा जुटेको जानकारी दिँदै सामुदायिक विद्यालयको गुणस्तर बढाउन सरकारले पहल गर्नुपर्ने बताए ।