झापाः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनमत मानव एकता र विश्व शान्तिको पक्षमा एक ढिक्का रहेको जनाउँदै यो एकतालाई कसैले हल्लाउन नसक्ने बताएका छन् ।
नेपाल मानव धर्म सेवा समितिद्वारा झापाको मेचीनगरमा विराट सत्सङ समारोहको उद्घाटन गर्दै उनले नेपाली जनमत एक ढिक्का भएका कारण मुलुकको सार्वभौमसत्ता, अखण्डता र धार्मिक सद्भाव जोगिएको बताए ।
भारत उत्तराखण्ड राज्यका पर्यटन मन्त्री सतपाल महाराजले सत्सङलाई सम्बोधन गर्दै नेपाल धर्म र ज्ञानको भण्डार भएको हुँदा विश्वभरिको ध्यान नेपालतिर आकर्षित भएको बताए । उनले धर्मका नाममा जातीय विभेद अस्वीकार्य हुने र सबै मानव समान भएको धारणा व्यक्त गरे । उनले महाकाली नदीमा पञ्चेश्वर परियोजना बनेपछि नेपालको झुपडी झुपडीको अन्धकार हट्ने र अयोध्यादेखि जनकपुर जोड्ने रेलमार्ग बनेपछि धार्मिक एवम् पर्यटकीय सम्बन्धले फड्को मार्ने बताए ।
मेचीनगर नगरपालिका–८ धुलाबारीस्थित श्रद्धेय आश्रममा सञ्चालित सत्सङ कार्यक्रममा नेपाल, भारत र भुटानका झण्डै १ लाख भक्तजन सहभागी रहेको आयोजक समितिका सहसंयोजक सागर कटुवालले बताए ।