इटहरीः इटहरी नमुना कलेज र हाम्रो बोर्डिङ स्कुलको नाममा अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कार्यालय इटहरीले पत्र काटेको छ ।
२ शैक्षिक संस्थाले सार्वजनिक जग्गा मिचेको विषयमा अख्तियारले प्रमाण पठाउने आदेश दिएको हो ।

इटहरी उपमहानगरपालिकालाई काटेको पत्रमा आवश्यक विवरणसहित रायप्रतिक्रिया पठाउन भनिएको छ । अख्तियारमा परेको उजुरीका आधारमा छानबिन गर्नुपर्ने देखिएको पत्रमा उल्लेख गरिएको छ । गत माघ १५ गते काटिएको पत्रमा ७०१ दर्ता नम्बर उल्लेख छ ।
जसमा इटहरी ४ मा पर्ने खेती खोला अतिक्रमण गरेर बनाइएको हाम्रो बोर्डिङ स्कुल र इटहरी–८ मा टेङ्ग्रा खोला मिचेर बनेको नमुना कलेजको जग्गाको विषयमा स्पष्ट प्रमाण माग गरिएको छ । खोला अतिक्रमण बढेका कारण बर्षेनी इटहरी बजार डुबानमा हुने भएकाले छानबिन गरिपाऊँ भनी अख्तियारमा उजुरी परेको थियो ।

त्यस्तै, अख्तियारले प्रमाणसहित आवश्यक कागजात र राय उपलब्ध गराइदिन भन्दै उपमहानगरपालिकालाई पत्र काटेको छ । पत्रमा अख्तियारले सत्यतथ्य के हो स्पष्ट पार्न उपमहानगरलाई आग्रह गरेको छ ।
पत्रको दोस्रो बुँदामा उपमहानगरले प्राविधिक टोली खटाएर सत्यतथ्यसहितको छानबिन प्रतिवेदन र साथमा सञ्चालनको हालको स्केच पेश गर्न भनिएको छ । त्यस्तै, उक्त जग्गा कसको स्वामित्वमा रहेको र उक्त संरचनाको नक्सापास भएको छ छैन भनी अख्तियारले प्रश्न गरेको छ ।
शाखा अधिकृत विष्णुकुमार थेगुवाले काटेको पत्रमा उपमहानगरसमक्ष सम्पूर्ण प्रमाण माग गरिएको छ । ०७५ फागुन ६ गते काटेको पत्रमा पत्र प्राप्त भएको ७ दिनभित्र जवाफ पठाउन माग गरिएको छ ।

अध्ययन भइरहेको छः वरिष्ठ इञ्जिनियर दाहाल
उता, इटहरी उपमहानगरपालिकाले भने हालसम्म पनि पत्रको जवाफ पठाउन सकेको छैन । इटहरी उपमहागरपालिकाका वरिष्ठ इन्जिनियर अर्जुन दाहालका अनुसार फागुन १३ गते मात्र पत्र आइपुगेकाले अध्ययनको काम भइरहेको छ । प्रमाण सङ्कलन गरी २६ गते आइतबार सम्ममा पत्रको जवाफ पठाइसक्ने उनले बताए ।

यस्तो छ जग्गाको समस्या
इटहरी–४ मा अवस्थित हाम्रो इङ्लिस बोर्डिङको सम्पूर्ण भवन खेती खोलाको जग्गामा बनेको छ । ५५ देखि ७६ फिटसम्म चौडा रहेको खोलाको भाग हाल खुम्चिएर २५ फिटभन्दा सानो भएको छ । जसमा बोर्डिङको प्रशासनिक भवन बनेको छ ।
सो बोर्डिङले झण्डै २ सय वर्गफिट क्षेत्रफल खोलाको जग्गा मिचेको बताइएको छ । खोलाको आकार नै खुम्चिएर गएको छ । जसका कारण हरेक वर्षको बाढीमा खोलो बजार क्षेत्रमा प्रवेश गर्ने गरेको स्थानीय बताउँछन् ।

त्यस्तै, इटहरी–८ को नमुना कलेजले पनि टेङ्ग्रा खोला मिचेर भवन बनाएको छ । जहाँ ४० फिट चौडा खोला खुम्चिएर १० फिटको भएको छ । कलेजकै अगाडि निर्माण भएको घरसमेत खोलाकै जग्गामा निर्माण भएको छ ।

सङघीय सरकारले स्थानीय सरकारलाई पठाएको पत्रअनुसार खोलादेखि ३० मिटर असापासको क्षेत्रमा कुनै पनि संरचना बनाउन नपाइने इन्जिनियर दाहाल बताउँछन् । तर बजार क्षेत्रमा खोलादेखि कति मिटरमा बनाउनु उपयुक्त हुन्छ भन्ने बारेमा एक समितिले अध्ययन गरिरहेको उनको भनाइ छ ।

मेयरको असक्षमता
निजी शैक्षिक संस्थाले मिचेको जग्गा खाली गर्न इटहरीका मेयर आफँै असक्षम देखिएका छन् । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले खेती खोला सरसफाइ अभियानै चलाएको बताए । तर उनले चलाएको डोजरले सिमानमा रहेको राजकुमार खड्काले बाँधेको बाँधदेखि बाहेक अरु केही पनि भत्काउन सकेन ।

अन्ततः डोजरको यात्रा बोर्डिङसम्म पनि पुगेन । तिनै खड्काका अनुसार आफूले जग्गा संरक्षणमा लगाएको बाँधबाहेक छेउछाउमा बनेका घर तथा टोल विकासका भवन जस्ताको तस्तै छाडिएको छ ।