इटहरीः मोरङको कानेपोखरी गाउँपालिकाको शिक्षा सदन माविमा बुधबार दिउँसो पुगे तुलसीप्रसाद वस्ती । धरानमा मुख्य कार्यालय भएको मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) वस्ती विद्यालयमा कुनै बैंकिङ कार्यक्रमको लागि त्यहाँ पुगेका थिएनन् । उनी विपन्न बस्तीका विद्यार्थी पढाउने सामुदायिक विद्यालयमा कम्प्युटर लिएर पुगेका थिए ।
कानेपोखरी गाउँपालिकाको वडा नम्बर ३ को तल्लो हरकपुरमा रहेको विद्यालयमा वस्तीले कक्षा ७ सम्म पढेका हुन् । २०४० सालमा कक्षा ७ को परीक्षा दिएर विद्यालय छाडेका वस्ती ३५ वर्षपछि विद्यालयमा ५ थान कम्प्युटर लिएर गएका थिए ।
मितेरी बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रमको लागि कम्प्युटर लिएर पुगेका वस्तीले भने, ‘मैले आफ्नो बैंकको कार्यक्रमबाट आफू पढेको विद्यालयमा कम्प्युटर दिन पाउँदा खुशी लागेको छ ।’
विद्यालयले कम्प्युटर कक्षा सञ्चालन गर्न चाहेर पनि नसकिरहेको अवस्थामा अत्यावश्यक कम्प्युटर लिएर पुगेका वस्तीले विपन्न र सीमान्तकृत समुदायका विद्यार्थी पढ्ने भएकाले पनि विद्यालयमा कम्प्युटर दिएको बताए ।
उनले भने, ‘कम्प्युटर मात्रै होइन, यहाँका विपन्न सीमान्तकृत समुदायका कक्षा १२ मा म्यानेजमेन्टमा राम्रोसँग पास भएकाहरूलाई योग्यताअनुसार मितेरी बैंकमा जागिर दिन हामी तयार छौँ ।’
मितेरी बैंकका सञ्चालक किसन मास्के, सोही विद्यालयका पूर्व विद्यार्थी तथा धरानको ब्लाष्ट टाइम्स दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठसँगै विद्यालयमा पुगेका वस्तीले कम्प्युटर बिग्रन्छ भनेर पढाइमा कन्जुस्याइँ नगर्न आग्रह गरे ।
‘कम्प्युटर बिग्रेला कि भनेर नचलाई नराख्नुहोेस्’, गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेसमेत उपस्थित कम्प्युटर हस्तान्तरण कार्यक्रममा वस्तीले भने, ‘बिग्रने कुरा बिग्रन सक्छ । तर पढाइ र सिकाइमा कुनै कन्जुस्याइँ नगर्नु होला ।’
आफूले पढेको विद्यालयमा कम्प्युटर दिन बुधबार पुगेका वस्तीले त्यो भन्दा अगाडि रंगेली नगरपालिका–८ दर्बेसामा अर्को विद्यालयलाई पनि कम्प्युटर प्रदान गरे । महालक्ष्मी विद्यालयलाई पनि ५ वटा कम्प्युटर दिएका वस्तीले अन्य सामुदायिक विद्यालयलाई पनि क्रमशः दिँदै जाने बताए ।
मितेरी डेभलपमेन्ट बैंकको तर्फबाट कम्प्युटर पाएका महालक्ष्मी माविका प्रधानाध्यापक ज्योति राजवंशी र शिक्षा सदन माविका प्रधानाध्यापक नारायणप्रसाद काफ्लेले कम्प्युटर पाउँदा विद्यार्थीलाई कम्प्युटर अध्ययन र प्रयोगमा सहयोग पुग्ने बताए ।
‘हामीले कक्षा ४ मा अङ्ग्रेजी सिक्याँै, कम्प्युटर देख्न त धेरै समय लाग्यो’, वस्तीले बुधबार दिँउसो दुवै विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकहरू भेला भएका कार्यक्रमहरूमा भने, ‘अब हाम्रा भाइबहिनीले भने यस्तो अवस्था भोग्नुपर्ने छैन ।’