विराटनगरः उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानी गर्दै उनले अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने कुरामा जोड दिए । उपप्रधानमन्त्री पोखरेलले अदालतको फैसलाको विरुद्धमा आन्दोलन गर्छु भन्ने राष्ट्रिय जनता पार्टीको भनाइ उचित नभएको भन्दै कानुनको सबैले पालना गर्नुपर्ने बताए ।
उनले मुलुकका ३ वटै तहका सरकारको अधिकार संविधानले सुनिश्चित गरिसकेको स्पष्ट पार्दै सरकारले आफ्नो अधिकारलाई कार्यान्वयन गर्न कानुन निर्माण गरिरहेको बताए ।
मुलुकमा तीव्र गतिमा विकास हुने कार्यको आधार निर्माण भइसकेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले आपराधिक गतिविधि गर्नेलाई सरकारले नियन्त्रण गर्ने बताए । उनले विशुद्ध एवं व्यावसायिक नेपाली सेनामा राजनीतिक हस्तक्षेप कहिल्यै नहुने पनि बताए ।