विराटचोकः मोरङको सुन्दरहरैंचाकी नगरमाता महेश्वरा अधिकारीसहित १० जना महिलालाई पहिलो पाइला नामक संस्थाले आज सम्मान गरेको छ ।

महिला दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाकी उपमेयर धनमाया तामाङले ज्येष्ठ तथा एकल महिलालाई सम्मान गरेकी थिइन् ।

सम्मान कार्यक्रममा बोल्दै तामाङले स्थापनाको छोटो समयमा नै पहिलो पाइला नामक संस्थाले उदाहरणीय काम गरेको बताइन् । महिला मुक्तिको आवाज उठेको दिनको सम्झनामा मनाइने कार्यक्रममा समाजका ज्येष्ठ र एकल महिलालाई सम्मान गरी संस्थाले नयाँ कामको थालनी गरेको उनको भनाइ थियो ।

कार्यक्रममा नगरमाता अधिकारीसहित सुभद्रा पोखरेल, हेमलक्ष्मी श्रेष्ठ, मिठुमाया रम्तेल र शारदादेवी मगर सम्मानित भएका थिए । त्यस्तै, शिवकुमारी भुजेल, लक्ष्मीमाया रिजाल, मनमाया तिम्सिना र नरमाया नेपाल पनि सम्मानित भएका थिए ।

सहाराविहीन ज्येष्ठलाई विशेष सम्मान

सन्तान नभएकी र श्रीमान्को मृत्यु भइसकेकी राजकुमारी श्रेष्ठलाई संस्थाले विशेष सम्मान गरेको थियो । आफूहरू छानो भत्किसकेको श्रेष्ठको घरमा पुग्दा एउटा गुन्द्रीमा ओढ्ने ओछ्याउने बिना नै जीवन चलाइरहेको देखेर सहयोग गरेको संस्थाले जनाएको छ । संस्थाले एक सेट ओढ्ने ओछ्याउने सो कार्यक्रममै प्रदान गरी श्रेष्ठकै घरमा पु¥याएको थियो । श्रेष्ठलाई आजीवन खाद्यान्न पनि उपलब्ध गराउने संस्थाले कार्यक्रममा जनाएको छ ।

samman  (3)

कार्यक्रमलाई वडा नम्बर ७ की महिला सदस्य मीनादेवी ओझा, वडा नम्बर ८ की महिला सदस्य उर्मिला रिजाल, पहिलो पाइलाका विराटनगर शाखा अध्यक्ष सुवास गौतम, इटहरी शाखा अध्यक्ष विवश शर्मालगायतले सम्बोधन गरेका थिए । सुन्दरहरैंचा शाखा अध्यक्ष निराजन धमलाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव सिर्जना धमलाले गरेकी थिइन् ।
क्रिएटिभ टेक्निकल एण्ड एजुकेसन सेन्टर, लालीगुराँस भजनकीर्तन समूह र बुमबुम डान्स सेन्टरको सहयोगमा भएको कार्यक्रममा रेडियो सारङ्गी, खबर सेरोफेरो र बेतना दैनिक मिडिया पार्टनर रहेका थिए ।

nagarmata  (1) samman  (2) samman  (4)

pahilo paila samman  (4) pahilo paila samman  (8) pahilo paila samman  (7) pahilo paila samman  (5)