विराटनगरः विराटनगरमा फागुन २८ गतेदेखि शुरु हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
इतिहासमै पहिलो पटक मोफसलमा हुन लागेको पाँचौँ साफ महिला फुटबल प्रतियोगिताका केही प्राविधिकबाहेक अन्य सबै तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का सदस्य एवं प्रचारप्रसार समितिका संयोजक किरण राईले जानकारी दिए ।
साफ महिला फुटबल प्रतियोगिता सञ्चालन हुने शहीद रङ्गशालाको रङरोगन, महिलामैत्री रङ्गशाला, चेञ्जिङ रुम, महिलामैत्री शौचालय, खेलाडी, प्रशिक्षक बस्ने स्थान लगायतका अन्य सम्पूर्ण कार्य सम्पन्न भएको उनले बताए ।
संयोजक राईले विदेशी खेलाडीले अभ्यास गर्ने खेल मैदान विराटनगरको जुट मिल तथा दिल्ली पब्लिक स्कुल विराटनगर र सुनसरी दुहबीको खेल मैदानको स्तरोन्नति तथा व्यवस्थापन लगायतका सबै तयारी पूरा भएको बताए ।
अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पाले विराटनगरमा भएको खेल मैदान अन्तर्राष्ट्रियस्तरको रहेको र आवश्यक सम्पूर्ण सुविधा खेलाडीलाई उपलब्ध गराइने बताए ।
उनले विराटनगरका खेल मैदानको सम्बन्धमा विश्व फुटबल सङ्घ, एशियन फुटबल र साफले मान्यता दिएको जानकारी दिए । प्रतितियोगिता सफल बनाउन सबैको सहयोग आवश्यक छ भन्दै आगामी दिनमा पनि अन्तर्राष्ट्रियस्तरको खेल पुनः ल्याउने उनले उल्लेख गरे ।
विराटनगरमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालनबाट महिलालाई खेल खेल्न हौसला प्रदान गर्नुका साथै फुटबलको माहोल सिर्जना हुने अध्यक्ष शेर्पाले बताए । उनले नेपाली महिला टिम उच्चस्तरको रहेको प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विश्वास व्यक्त गरे ।
नेपाली महिला टिम यस प्रतियोगितापछि आगामी महिना म्यानमारमा विश्व कप फुटबलको छनोट प्रतियोगितामा समेत विजय प्राप्त गर्ने विश्वास रहेको उनले बताए । एशियन महिला फुटबलमा नेपाली महिला टिम अहिले १ सय ८ औँ स्थानमा रहे पनि ६० औं स्थानमा रहेको देशलाई पराजित गरेको उनले बताए ।
खेल अवधिभर एन्फा टिभि र अन्य नेपाली टेलिभिजन च्यानलले खेलको प्रत्यक्ष प्रशारण गरी विश्वभरका खेलप्रेमी दर्शकलाई देखाउने छन् । रङ्गशालामा गई करीब ५० हजार दर्शकले प्रत्यक्ष रूपमा अवलोकन गर्ने आयोजकको अनुमान रहेको बताइएको छ । साफ महिला फुटबल प्रतियोगिता सञ्चालनले विराटनगरको नाम विश्वभर चर्चा हुने दाबी गरिएको छ ।
प्रतियोगिताको प्रचारप्रसारका लागि मोरङ, सुनसरी, झापा लगायतका जिल्लाका स्थानीय पत्रपत्रिका, एफएम, स्थानीय टेलिभिजन, अनलाइनबाट प्रचारप्रसार गरिनुका साथै रिक्सा र भ्यानबाट प्रतियोगिताबारे सर्वसाधारणलाई जानकारी गराइने बताइएको छ ।
सञ्चारकर्मीको सुविधा लागि प्रतियोगिता अवधिभर रङ्गशालामा वाइफाइसहित मिडिया सेन्टरको सुविधा उपलब्ध हुने आयोजकको भनाइ छ । प्रतियोगिताको टिकट अनलाइन, बिक्री कक्ष तथा रङ्गशालामा उपलब्ध हुने पनि आयोजकले जानकारी दिएको छ ।
संयोजक राईले नेपाल टेलिकम र एनसेलबाट छोटो सन्देश प्रवाह गरी सर्वसाधारणलाई प्रतियोगितासम्बन्धी जानकारी गराइने बताए । रङ्गशालामा प्रतियोगिता अवधिभर चिकित्सकसहितको अन्तर्राष्ट्रियस्तरको ‘हेल्थ डेस्क’ स्थापना गरी तयारी अवस्थामा २ वटा एम्बुलेन्स व्यवस्था गरिने उनले बताए ।
प्रतियोगिता तथा खलाडीको सुरक्षाको व्यवस्था सुदृढ रहेको बताउँदै रङ्गशालामा स्वयंसेवक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बाहिरपट्टी नेपाली सेनाले सुरक्षा जिम्मेवारी लिएको अध्यक्ष शेर्पाले जनाए ।
फागुन २६ गतेसम्म विदेशी महिला खेलाडी विराटनगर आउने हुनाले महानगरपालिकाले पाहुनालाई होटलसम्म पु¥याउने बाटोको मर्मत कार्य सम्पन्न गरिसक्ने विश्वास पनि उनले व्यक्त गरे ।
प्रतियोगिता सञ्चालन गर्नका लागि विराटनगर महानगरपालिकाले रु १ करोड र प्रदेश सरकारले रु ५० लाख सहयोग गरेको जानकारी दिँदै प्रतियोगितामा अन्तर्राष्ट्रियस्तरबाट ३ सयभन्दा बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशिक्षकको सहभागिता रहने बताइएको छ ।
नेपाल, भारत, भुटान,, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्काका राष्ट्रिय महिला फुटबल टिमको सहभागिता हुने सो प्रतियोगितामा फागुन २८ गते उद्घाटन हुनेछ । उद्घाटन खेल नेपाल र भुटानबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको ‘ए’ समूहमा नेपाल, भुटान र बङ्गलादेश रहेका छन् भने ‘बी’ समूहमा भारत, श्रीलङ्का र मालदिभ्सको महिला टिम छ ।