झापाः नेपालमा संस्थागत महिला आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्रान्तिकारी महिला योगमाया न्यौपानेको शालिक शुक्रबार झापाको कनकाई नगरपालिकामा अनावरण गरिएको छ ।
१ सय ९ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कनकाई–३ मा निर्मित योगमायाको अर्धकदको शालिक झापा क्षेत्र नं २ का सांसद पवित्रा खरेलले अनावरण गरिन् । सांसद खरेलले ७७ वर्ष पहिले महिला मुक्तिका लागि योगमायाले थालेको आन्दोलनबाट महिलामुक्ति र समानताका लागि देशमा अवसर प्राप्त भएको बताइन् ।
शालिक निर्माणमा कनकाई नगरपालिकाले रु १८ लाख, कनकाई सामुदायिक वनले रु ५१ हजार र स्थानीयवासी तुलाराज बस्नेतले रु ५० हजार सहयोग गरेको योगमाया शालिक निर्माण समितिका अध्यक्ष शर्मिला कुँवरले बताइन् । अर्धकदको शालिक ११ फिट अग्लो छ ।
योगमायाले राणा शासनताका महिला हकअधिकारका पक्षमा सङ्घर्ष गरेको कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईंले बताइन् । आन्दोलनका क्रममा १९९८ सालमा योगमायाको नेतृत्वमा ६८ जना महिलाले अरुण नदीमा हाम फालेर जलसमाधि लिएको इतिहास छ ।
शालिक निर्माण गरिएको स्थानलाई ‘योगमाया चोक’ नामकरण गरिएको छ । कार्यक्रममा सांसद धर्मशिला चापागाईं, अम्बिका राजवंशी र सरिता प्रसाईंलाई सम्मान गरिएको थियो । प्रदेशसभा सदस्य हीरा थापा, पूर्वसांसद प्रेम गिरी, नगरप्रमुख राजेन्द्र पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।