बेलबारीः १ सय ९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बेलबारी नगरपालिकाको आयोजनामा ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिका आधार’ विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।

बेलबारी नगरपालिकाको सांस्कृतिक हलमा भएको सो अन्तरक्रिया कार्यक्रममा प्रदेशसभा सदस्य यशोदा अधिकारी, बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदी, नगर विकास समितिका संयोजक धर्मप्रसाद जमरकट्टेलको सहभागिता थियो ।

त्यस्तै, महिला अगुवा सीता सुवेदी, नेकपाका बेलबारी नगरसंयोजक परशुराम सुवेदी, अधिवक्ता बालकृष्ण आचार्य, बेलबारी नगरपालिकाका नगरकार्यपालिका सदस्यहरू तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सहभागी थिए ।

प्रमुख अतिथि प्रदेशसभा सदस्य यशोदा अधिकारीले अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा महिला हक अधिकारको सवालमा सचेत रहेको बताइन् । उनले अहिले कानुन बनाउने क्रममा रहेकाले केही द्विविधा भए पनि त्यो द्विविधा कानुनको पूर्णतासँगै हट्दै जाने बताइन् । आमाकै नामबाट सन्तानले चाँडै नागरिकता पाउने पनि उनले बताइन् ।

बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले नगरपालिका महिलाहरूको अधिकारका सवालमा सधैँ सचेत रहेकोे बताउँदै आफूहरू नगरलाई पूर्ण साक्षर बनाउने काममा लागेको बताए ।

अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताले नगरपालिका महिलामैत्री बन्न नसकेको गुनासो गरेका थिए ।

कार्यक्रममा तिला लेकालीले प्रस्तुत गरेको ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिका आधार’ विषयक कार्यपत्रमाथि अधिवक्ता बालकृष्ण आचार्यले टिप्पणी गरेका थिए ।