उदयपुरः उदयपुरको उदयपुरगढी गाउँपालिकाको मदन भण्डारी लोकमार्ग खण्डको नेपालटारमा आज बिहान ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार १ जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका–७ का ४८ वर्षीय बलबहादुर मगर छन् । मोटरसाइकल चालक मगरकै छोरा सुजन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मदन भण्डारी लोकमार्ग अन्तर्गत सडक निर्माणमा काम गर्ने ना १ क ८३४७ नम्बरको ट्रिपरले बा ९३ प ९४३२ नम्बरको मोटरसाइकललाई नेपालटार नजिकै ठक्कर दिएको थियो ।
घाइते सुजनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । ट्रिपर चालकको खोजी भइरहेको बताइएको छ । चालकले नभएर सहचालकले ट्रिपर चलाएका कारण दुर्घटना भएको हुन सक्ने स्थानीयले बताएका छन् ।