पाँचथरः प्रदेश नं १ मा नेपाल प्रहरीलाई पूर्वाधारयुक्त तथा प्रविधिमैत्री बनाइने भएको छ । भौतिक पूर्वाधार र प्रविधिको अभावमा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई चुनौती रहेकाले प्रदेश सरकारले चालु आर्थिक वर्षमा पूर्वाधार विकास, सूचना सञ्चार र प्रविधिका लागि बजेट छुट्ट्याएको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरमा महिला भवन तथा प्रहरी नायब उपरीक्षकको आवास भवनको शिलान्यास गर्दै मन्त्री आङ्बोले प्रहरीको मनोबल उच्च बनाउन प्रदेश सरकारले प¥र्याप्त बजेट छुट्ट्याउँदै जाने बताए । उनले प्रदेश प्रहरीको भवन र थप पूर्वाधारका लागि रु २९ करोड बजेट विनियोजन गरिएको जनाए ।

पाँचथरमा जिल्ला प्रहरी कार्यालयभित्र महिला भवन तथा प्रहरी नायब उपरीक्षकको आवास भवनका लागि रु १ करोड इलाका प्रहरी कार्यालय अमरपुर र खान्द्रुङ तथा प्रहरीचौकी फाक्तेपको भवन निर्माणका लागि रु ३÷३ करोड बजेट विनियोजन गरिएको उनले बताए ।

प्रहरीलाई पूर्वाधारयुक्त र प्रविधिमैत्री बनाउन प्रदेश सरकारले जिल्ला प्रहरी कार्यालयका लागि एउटा चारपाङ्ग्रे सवारी साधन तथा पाँचथरका विभिन्न प्रहरी चौकीका लागि १२ वटा मोटरसाइकल समेत प्रदान गरेको मन्त्री आङ्बोले बताए । प्रदेशका सबै प्रहरीचौकी तथा पोष्टका लागि स्थायी मोबाइल सेट र सिमकार्डसमेत प्रदेश सरकारले उपलब्ध गराउने भएको छ ।

प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले पूर्वाधारको अभावमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई समस्या रहेको बताए । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख नरेन्द्र कुँवरले समयमै भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।