झापाः पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठान धुलाबारी, झापाले दिवङ्गत पत्रकार तथा लेखक भरत भुर्तेलको स्मृतिमा स्थापना गरेको ‘भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार’ आनन्द गौतमलाई प्रदान गरेको छ ।
धुलाबारीमा आयोजित पुरस्कार वितरण समारोहमा गौतमलाई रु २५ हजारसहित पुरस्कार प्रदान गरिएको हो । नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक कृष्णज्वाला देवकोटा र मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले कान्तिपुर दैनिकका ताप्लेजुङ समाचारदाता गौतमलाई सो पुरस्कार प्रदान गरेका हुन् ।
भुर्तेलको स्मृतिमा प्रतिष्ठानले गत वर्षदेखि पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । पत्रकार चन्द्र भण्डारीको संयोजकत्वको समितिले पुरस्कारका लागि पत्रकार चयन गरेको थियो । कार्यक्रममा प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट विद्यालयको सम्मान यस वर्ष गढीगाउँ माध्यमिक विद्यालयलाई प्रदान गरेको छ । रु ५१ हजार राशिको सो पुरस्कार क्षेत्र नं १ भित्रका उत्कृष्ट सामुदायिक विद्यालयलाई प्रदान गरिन्छ ।
उत्कृष्ट शिक्षकको रूपमा धुलाबारी माविका सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाई र उत्कृष्ट गणित शिक्षकमा गढीगाउँ माविकै रुद्रमणि खतिवडालाई रु १० हजारसहित पुरस्कृत गरिएको छनोट समितिका संयोजक भण्डारीले बताए । कार्यक्रममा उत्कृष्ट छात्रामा बालकल्याण मावि मेचीनगरकी श्रद्धा बस्नेत, लोपोन्मुख जातिका विद्यार्थीमध्येबाट शान्ति आदर्श माविका खेमराज लेप्चा, सन्तोष लेप्चा र सुस्मिता लेप्चालाई रु पाँच÷पाँच हजार प्रदान गरियो ।
प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाले माता र पिताको स्मृतिमा प्रतिष्ठान खडा गरी पाँच वर्षदेखि विभिन्न क्षेत्र र विधाका प्रतिभालाई पुरस्कार र सम्मान प्रदान गर्दै आएका छन् ।