झापाः झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–३ राजगढका ६२ वर्षीय चुनु हेमरम र शिवसताक्षी–८ डुडामारीका ४९ वर्षीय महेन्द्र भट्टराई रहेका छन् ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना ४ ख २०३६ नं को ट्रकले सडक पार गरिरहेका हेमरमलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा राखिएको बताइएको छ ।
यसैगरी, पूर्व–पश्चिम राजमार्गको कमल गाउँपालिका–५ पाडाजुगीमा शनिबार राति सडक किनारमा रोकिराखेको कारमा मोटरसाइकल ठोक्किँदा महेन्द्र भट्टराईको मृत्यु भएको हो । प्रहरीका अनुसार सडक किनारमा रोकिराखेको बा १३ च ७५२७ नम्बरको कारमा मे ९ प २९८८ नम्बरको मोटरसाइकल ठोक्किँदा शिवसताक्षी–८ डुडामारीका ४९ वर्षीय भट्टराईको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिम जाँदै गरेको मोटरसाइकल कारमा ठोक्किँदा भट्टराईसँगै मोटरसाइकल चालक सोही ठाउँका कुमार गिरी घाइते भएका थिए । घाइते गिरीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।