विराटनगरः प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा नियमावली संशोधन मस्यौदाको म्याद थपसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ । मस्यौदा समितिका सभापति तुलसीप्रसाद न्यौपानेले सो प्रस्ताव पेश गरेका थिए ।

उनले नियमावली पूर्ण सहमतिमा आउनुपर्ने कारण केही बुँदामा सहमति जुटाउन समय अभाव भएकाले म्याद थपको प्रस्ताव पेश गरेको जनाए ।

उता, शून्य समयमा बोल्दै सदस्य अम्बिका थापाले उदयपुरको मैनामैनीमा देखिएको खानेपानीको समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइन् । सदस्य केदार कार्कीले सङ्घीय सरकारका कारण लोकतन्त्र धरापमा पर्न नहुने बताए ।

सदस्य विमल कार्कीले उदपुरबाट अहिले पनि प्रदेशको राजधानी आउनुपर्दा प्रदेश नं २ को बाटो उपयोग गर्नुपर्ने भएकाले प्रदेशभित्रकै सप्तकोशी नदीमा जल यातायात शुरु गर्नुपर्ने माग गरे । प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि सैद्धान्तिक छलफल जारी छ । छलफलमा प्रदेशसभा सदस्य उमिता विक र ओमप्रकाश सरावगीले सरकारको तीन खम्बे अर्थ नीतिअनुरूप सहकारी पनि एउटा पाटो भएकाले यसमा गहिरिएर अध्ययन एवं छलफल गर्नुपर्ने बताए ।