इटहरीः आगामी चैत २३ गतेदेखि ३० गतेसम्म श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाममा चतुर्थ शताब्दी महोत्सव आयोजना गर्न लागिएको छ । श्रीमत्तारतम सागर ब्रह्मवाणी ४ सय पारायण तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको बताइएको छ ।
चतुर्थ शताब्दी महोत्सवका विषयमा आयोजक समितिका संयोजक हेमप्रसाद घिमिरेले जानकारी दिँदै विश्वका ११ देशमा हँदै आएको महोत्सव नेपालमा आएर समापन गर्न लागिएको बताए ।
निजानन्द सम्प्रदायका प्रवद्र्धक महमति स्वामी श्री प्राणनाथजीको जन्म भएको ४ सय वर्ष पुगेको अवसर पारेर विश्वका विभिन्न देशमा हुँदै आएको महामति प्राणनाथ प्राकट्य चतुर्थ शताब्दी अन्तर्राष्ट्रिय माहोत्सव २०७५ को समापन सुनसरीको इटहरीमा हुने भएको छ ।
घिमिरेले श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपालको पहलमा बुढीगंगा जमुना मुक्तिघाट निर्माण कार्यको अग्रसरता लिनेदेखि इटहरीको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरी राधाकृष्ण मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।
१० करोड रुपैयाँको लागत लाग्ने अनुमान गरिएको मन्दिर निर्माण कार्य समेत तीव्र गतिमा भइरहेको र धार्मिक महोत्सवको अवसरमै उद्घाटन गर्ने योजना रहेको समेत घिमिरेले बताए ।