धरानः विश्वभर १३ मार्चका दिन मनाइने रोट्रयाक्ट दिवसका अवसरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको रोट्रयाक्ट क्लब धरान घोपाले पनि सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।
प्रतिष्ठान हाताभित्र रहेको क्लबको कार्यालयमा पत्रकार सम्मेलन गरी फागुन २७ गतेदेखि चैत ३ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको छ । सप्ताहव्यापी कार्यक्रमको जानकारी दिँदै क्लबका सचिव उर्मिला देवानले फागुन २७ गते फुटसल, टी–सर्ट रिलिज र फागुन २८ गते वादविवाद, टेबलटेनिस, ब्याडमिन्टन, परियर्स, आइ स्माइल प्रतियोगिता हुने बताइन् ।
त्यस्तै, फागुन २९ गते क्रिसकल, टेबलटेनिस, ब्याडमिन्टन, वी सरभाइभ टु सर्भ र फागुन ३० गते फुटबल, वी सरभाइभ टु सर्भको आयोजना गरिएको जानकारी दिइन् ।
त्यसैगरी, चैत १ गते कुवीज, क्राफ्ट एक्जीवीसन, स्लो स्कुटी एण्ड बाइक रेस, चैत २ गते भीवोबी एण्ड आरडिएस, क्लिनिङ क्याम्पेन र चैत ३ गते डान्स पार्टीको आयोजना गरिने उनले बताइन् ।
रोट्रयाक्ट धरान घोपाकी जनसम्पर्क प्रमुख सिर्जना मैनालीका अनुुसार सप्ताहव्यापी कार्यक्रमका अवसरमा क्लबले नृत्य र वक्तृत्वकला प्रतियोगितामा ६÷६ जनाको प्रस्तुति देखाउने छ । उनीहरूको केही दिन अघि अडिसन सम्पन्न भएको थियो । सोही क्रममा धरानको रेल्वे, ज्ञानचक्षु विद्यालय, छाताचोक लगायतका क्षेत्रमा स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने भएको छ । आँखा, दाँत लगायतका प्राथमिक उपचारको शिविर सञ्चालन गर्ने भएको छ भने स्वाथ्य प्रवद्र्धनका लागि पाठेघर, फिस्टुला लगायतका बिरामीलाई विशेषज्ञसहित विभिन्न क्षेत्रमा सेवा दिने भएको छ ।
प्राथमिक उपचारसम्बन्धी ट्राफिक प्रहरीलाई तालीम प्रदान गरिने पनि उनले जानकारी दिइन् । सप्ताहव्यापी कार्यक्रमको समापन १७ मार्च अर्थात् चैत ३ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र रहेको द सहारा हलमा हुने जानकारी गराइएको छ ।
रोट्रयाक्ट क्लबमा १८ देखि ३० वर्षसम्मका युवा समावेश हुन्छन् । समुदायमा विकासका पूर्वाधारका हिसाबले पछाडि परेका तथा विपन्न समुदायमा स्वास्थ्य, चेतनामूलक र परोपकारी कार्यक्रम संस्थाले सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष विवेक मेहताले बताए ।