धरानः चैत २ गते धरानमा ‘मोटिभेसन काउन्सिलिङ’ आयोजना हुने भएको छ । पर्यटन, स्वास्थ्य, शिक्षा तथा वातावरणजस्ता क्षेत्रलाई मध्यनजर गर्दै महावीर पुन तथा माल्भिका सुब्बालगायतले युवाहरूलाई ‘मोटिभेसन काउन्सिलिङ’ गर्ने भएका हुन् । सामाजिक अभियन्ता पुन, मनोविश्लेषक वासु आचार्य तथा पूर्व मिस नेपाल माल्भिकाले कार्यक्रमको सहजीकरण गर्ने भएका छन् ।
‘मोटिभेसन एण्ड साइक्लोजिकल क्याम्पिनिङ फर टुरिजम’ नामक सो कार्यक्रम पर्यटकीय क्षेत्रमा उत्पे्ररणा जगाउने कार्यक्रम हुने बताइएको छ । धरानका विभिन्न क्षेत्रमा रहेका समस्यालाई पहिचान गर्दै त्यसलाई सामाधान गर्न अगाडि बढ्ने उद्देश्यले यो कार्यक्रम हुन लागेको हो । नमस्ते धरान नेपालले पत्रकार सम्मेलन गर्दै सो कार्यक्रम चैत २ गते सुनसरी उद्योग वाणिज्य सङ्घमा हुने जनाएको हो ।
नमस्ते धरानका अध्यक्ष दीपेन्द्र थपलियाका अनुसार करिब ४ सयको सङ्ख्यामा धरानका जनप्रतिनिधि र युवायुवतीहरूलाई मोटिभेसन काउन्सिलिङ गराइनेछ ।
युवाहरूलाई उत्साह प्रदान गर्दै सकारात्मक सोचको विकास गर्न कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए । सकारात्मक सोच र व्यवहारले मात्र समृद्ध शहर निर्माण हुन सक्ने सोच राखेर संस्थाले कार्यक्रम आयोजना गरेको आयोजक नमस्ते धरानका सदस्य तथा कार्यक्रम संयोजक सत्यम् राईले जानकारी दिए ।