भोजपुरः नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलले भोजपुरका ग्रामीण क्षेत्रहरूमा जागरण अभियान लिएर भोजपुरको गाउँगाउँमा पसेको छ । ‘जनजनमा काङ्ग्रेस, मनमनमा काङ्ग्रेस’ नाराका साथ जिल्लाका ९ वटै स्थानीय तहमा पुग्ने कार्ययोजनाका साथ तरुण दल आफ्ना कार्यकर्ता र जनतामाझ गएको बताइएको छ ।
यही फागुन १६ गतेदेखि सञ्चालन गरिएको अभियान अन्तर्गत हालसम्म टेम्केमैयुङ, आमचोक, रामप्रसाद राई, साल्पासिलिछो, पौवादुङ्मा गाउँपालिका र षडानन्द नगरपालिकाका मुख्य केन्द्रहरूमा छलफल तथा अन्तरक्रिया सम्पन्न भइसकेको तरुण दल भोजपुरका अध्यक्ष सरोज बस्नेतले बताए । अरुण र हतुवागढी गाउँपालिका तथा भोजपुर नगरपालिकामा अभियान सञ्चालनको तयारी भइरहेको पनि उनले बताए ।
जागरण अभियानका क्रममा सरकारले दुई तिहाइको घमण्डमा जनविरोधी काम गरेको भन्दै वक्ताहरूले सबैलाई खबरदारीको लागि सङ्गठित हुन आग्रह गरेका छन् । समृद्धि र सुशासनको आश्वासन बाँडेर केपी ओली नेतृत्वको सरकार जहानिया शासनतर्फ अघि बढेको अभियानमा सहभागी नेताहरूले टिप्पणी गरेका छन् ।
नेकपाको सरकारले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई संरक्षण गरेको, भ्रष्टचारीलाई बढावा दिएको, कार्यकर्ताको भरणपोषण गरेको, चिकित्सा विधेयक संसदमा जबरजस्ती एकलौटी ढङ्गले पास गरेको लगायतका दर्जनौं मुद्दाहरूमा प्रतिपक्षको भूमिकालाई बेवास्ता गर्दै बहुमतको दम्भ देखाएको भन्दै गाउँ तहसम्म सुसूचित गराइएको अध्यक्ष बस्नेतले बताए ।
जागरण अभियानको नेतृत्व नेपाली काङ्ग्रेस भोजपुरका सभापति नन्दमणि राई, नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाई, काङ्ग्रेस जिल्ला पार्टी सचिव तथा भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आले, युवा नेताहरू उमेशजंग रायामाझी, विनोद वान्तवा, हेमन्त मुकारुङ, ज्योति पौडेल, बालकृष्ण थापा लगायतले गरेको सो पार्टीले जनाएको छ ।