पाँचथरः प्रतिलिटर ६० पैसामा खानेपानी खरीद गरेर जीविका चलाउँदै आएका पाँचथरको कुम्मायक गाउँपालिकाका स्थानीयवासीले डिप बोरिङ गरेर जमीनबाट पानी निकालिएपछि ‘आनन्द’को अनुभूति गर्दैछन् ।

रु ५१ करोड बजेट खर्च गरिएको यासोक क्षेत्र पम्पिङ खानेपानी आयोजना समयमै सम्पन्न नहुँदा खानेपानीको चरम अभावमा ‘काकाकुल’ थियो, कुम्मायक । यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको परिकल्पनाअनुसार यहाँ डिप बोरिङ जडान गरियो । नभन्दै पानी निस्कियो र वितरण भयो । सो डिप बोरिङ आयोजनाको मन्त्री आङ्बोले औपचारिक उद्घाटन गरे ।

सुख्खाग्रस्त क्षेत्र कुम्मायक गाउँपालिकामा खानेपानीको उद्घाटनसँगै त्यस क्षेत्रका करीब एक हजार ५ सय घरधुरीका ७ हजार ५ सय परिवारमा खानेपानीको अल्पकालीन सुविधा पुगेको छ ।

उद्घाटनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री आङ्बोले यासोक क्षेत्र पम्पिङ आयोजनाअघि नै डिप बोरिङ आयोजनाले सानो राहत दिएको बताए । उनले प्रदेश सरकार शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत आवश्यकताको पूर्तिमा केन्द्रित भएको उल्लेख गरे । खानेपानीको अभावमा आफ्नो थातथलो छोडेर बसाइँ सर्नुपर्ने बाध्यता अन्त्य गर्न यो योजना अघि बढेको उनको भनाइ थियो । ठूला पूर्वाधार निर्माणअघि अत्यावश्यकीय आवश्यकता पूर्ति गर्नतर्फ तीनै तहका सरकारको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

समुदायको मागमा आधारित भएर कार्य गर्न उनले सबै सरकारी निकायलाई निर्देशन पनि दिए । यासोक क्षेत्रमा पम्पिङ खानेपानी आयोजनालाई सफल बनाएपछि पम्पिङ सिँचाइ आयोजना अघि बढाउनुपर्ने धारणा मन्त्री आङ्बोको छ । यसतर्फ तत्कालै स्पष्ट धारणा बनाउने बताए ।

सरकारले २०६८ सालमा सुख्खाग्रस्त क्षेत्र घोषणा गरेका साबिकका यासोक, रानीगाउँ र स्यावरुम्वा गाविसमा अहिले पाँच वटा डिप बोरिङका आयोजना अघि बढेका छन् । जसमध्ये तीन वटा आयोजनाबाट खानेपानी निकाली वितरण गर्न थालिएको छ । बाँकी दुई वटा आयोजना अन्तिम चरणमा पुगको आयोजनाका अध्यक्ष अमरसिंह थापाले बताए ।

प्रदेश सरकारले १ करोड ६० लाख रुपैयाँ बजेट उपलब्ध गराएसँगै आयोजनाको काम द्रुत गतिमा बढाई तत्कालै खानेपानी प्रबन्ध मिलाइएको खानेपानी तथा सरसफाइ डिभिजन नं १ का प्रमुख सुरतलाल चौधरीले बताए ।

मेची अञ्चलमै पहिलो पटक डिप बोरिङको आयोजना सफल भएको उनले जनाए । सुख्खा क्षेत्रमा पानी निस्केपछि स्थानीय हर्षित छन् । विद्युत्को सहायताबाट बोरिङ गरेर निकालिएको पानी सर्वसाधारणका घरसम्म पु¥याउन यासोक बजारमा पुरानै पाइपलाइन र सङ्कलन केन्द्रलाई प्रयोग गरिएको अध्यक्ष थापाले बताए ।

डिप बोरिङ आयोजनाको पानी वितरण भएसँगै पानी अभावमा बसाइँ सरेका थुप्रै परिवार पुनस्र्थापित हुने अपेक्षा गरिएको स्थानीयवासी पूर्वसामान्य प्रशासन राज्यमन्त्री डम्बरसिंह सम्बाहाम्फेको भनाइ छ ।