इटहरी/ चौतर्फी दबाबपछि नेपाली कांग्रेसले बिहीबार गर्ने भनेको सुनसरी बन्द फिर्ता लिएको छ ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङको रिहाइ गर्न दबाब दिने उद्देश्यले नेपाली कांग्रेसले बिहीबार सुनसरी बन्दको आह्वान गरेको थियो ।
नेपाली कांग्रेस सुनसरी सभापति तथा प्रदेश १ का विपक्षी दलका नेता राजीव कोइरालाले बन्द फिर्ता लिएको पुष्टि गरे । उनले भने, ‘धेरैको आग्रहमा सुनसरी बन्द फिर्ता लिने निर्णय गरिएको छ । पक्राउको विरोधका कार्यक्रम भने रिहाइ नहुन्जेल जारी हुनेछन् ।’
कुटपिट र जग्गा विवादमा शुक्रबार राति पक्राउ परेका गुरुङको ७ दिने म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । वामपन्थीले गुरुङलाई फसाउन खोजेको भन्दै नेपाली कांग्रेस सुनसरीले १३ गतेबाट निरन्तर सडक आन्दोलन गर्दै आएको छ ।
इटहरी–२० तरहराकी तीर्थमाया गिरीको परिवारलाई गुरुङ समूहले कुटपिट गरेको उजुरी र भिडियो प्रमाणका आधारमा गुरुङ पक्राउ परेको प्रहरीको भनाइ छ । गिरीको १० धुर जग्गामा २०६८ सालदेखि भाडा उठाएर खाएको भनिएको जग्गामा अमिनले नाप गर्दा गुरुङ समूहले गिरीलाई कुटपिट गरेको गिरी परिवारको भनाइ छ । वडाध्यक्ष मणिराम श्रेष्ठ र प्रहरीकै अगाडि भएको कुटपिटले गिरीका छोराको अनुहारमा निलडाम समेत भेटिएकाले गुरुङलाई पक्राउ गरिएको इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले बताए ।
गुरुङ केही महिना अगाडि किशोरी बलात्कारको घटना मिलापत्र गर्न सक्रिय भएको आरोपमा ५ हजार धरौटीमा सुनसरी जिल्ला प्रशासन कार्यालयबाट तारेखमा छुटेका थिए ।