उदयपुरः प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उदयपुरमा एम्बुसमा परी घाइते भएकी मीरा कटुवाललाई रु १ लाख आर्थिक सहयोग गरिएको छ । नेपाल–अमेरिका वेष्ट टेक्सास जनसम्पर्क समितिले सङ्कलन गरेर पठाएको रकम सोमबार काङ्ग्रेसका नेता प्रकाशमान सिंहले कटुवाललाई प्रदान गरे ।

कार्यक्रममा नेता सिंहले निर्वाचनका क्रममा घाइते भए पनि प्रजातान्त्रिक पद्धतिलाई अगाडि बढाउन कटुवालले गरेको भूमिका सह्रानीय रहेको बताए । समाजलाई रूपान्तरण गर्न लोकतान्त्रिक प्रक्रियाको विकल्प नभएको उनले बताए । घाइते कटुवालले आफ्नो दुःखमा पार्टी र साथीभाइले गरेको सहयोगप्रति धन्यवाद दिइन् ।

वि.सं २०७४ मङ्सिर १३ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उदयपुरको उदयपुरगढी गाउँपालिका–६ नेपालटारकोे आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा दनुवारबेँसी गाउँमा भएको विस्फोटमा परी काङ्ग्रेस उम्मेद्वार नारायणबहादुर कार्कीसहित कटुवाल एम्बुसमा परेर घाइते भएकी थिइन् ।