इटहरीः इटहरीका विभिन्न निजी स्कुलको शुल्क स्कुलैपिच्छे फरक देखिएको छ । इटहरी स्थानीय सरकार मातहतको शिक्षा महाशाखाले क, ख, ग र घ गरेर चार श्रेणीमा विद्यालयलाई वर्गीकरण गरेको छ । एकै श्रेणीका विद्यालयको शुल्क पनि फरक देखिएको छ ।
स्थानीय सरकारले गत माघ २ गते सबै निजी विद्यालयको शुल्क प्रस्ताव मागेको थियो । स्कुलैपिच्छे फरक शुल्क प्रस्ताव आएपछि यो तथ्य फेला परेको हो । इटहरीको विश्व आदर्श स्कुलको नर्सरी कक्षाको मासिक शैक्षिक शुल्क १ हजार ८ सय रुपैयाँ प्रस्ताव गरिएको छ भने कोशी सेन्ट जेम्स आवासीय माध्यमिक विद्यालयको शुल्क २ हजार १ सय रुपैयाँ प्रस्ताव गरिएको छ । क वर्गका दुवै विद्यालयले आफूले प्रस्ताव गरेकै हाराहारीमा हाल शुल्क उठाइरहेको अभिभावकहरू बताउँछन् ।
विश्व आदर्श र कोशी सेन्ट जेम्स मात्रै होइन क वर्गकै विद्यालय डिभिएम स्कुलले नर्सरीको शुल्क १ हजार ८ सय ९० रुपैयाँ प्रस्ताव गरेको छ । यातायात, आवास र अन्य भर्ना शुल्क बाहेकको यस्तो प्रस्ताव हरेक निजी स्कुलमा फरक छ । यस्तो फरक कक्षा नर्सरीदेखि १० कक्षासम्म नै रहेको देखिएको छ । फरकफरक शुल्क लिइरहेकाले प्रस्ताव पनि फरकफरक आएको देखिएको इटहरी उपमहानगरको शिक्षा महाशाखाका शाखा अधिकृत सेमन्त गौतमले बताए ।
अर्को बैठकबाट शुल्कदर कायम गरिनेछः मेयर चौधरी
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ (ज) मा स्थानीय सरकारलाई विद्यालयजन्य अधिकार दिइएको छ । स्थानीय सरकारले आधारभूत तथा माध्यमिक विद्यालयको अनुगमन, नियमन र व्यवस्थापन गर्न विभिन्न २३ वटा अधिकार पाएको छ । नेपालको संविधान २०७२ को अनुसूची ८ मा पनि यो अधिकार संवैधानिक रूपमा दिइएको छ ।
यही संवैधानिक अधिकार प्रयोग गरेर शुल्क निर्धारण गर्ने अधिकार पनि स्थानीय सरकारसँग छ । स्थानीय सरकार प्रमुखको अध्यक्षतामा बनेको शिक्षा समितिले शुल्क निर्धारण गर्न सक्छ । तर, इटहरी उपमहानगरपालिकाले अहिलेसम्म यस्तो कुनै शुल्क निर्धारण गरेको छैन ।
अघिल्लो कार्यकाल चुनावबाट आएर सबै काम हतारमा भएकाले शुल्क निर्धारण गर्न नसकिएको मेयर तथा शिक्षा समितिका अध्यक्षसमेत रहेका द्वारिकलाल चौधरीले बताए । ‘आज पनि हामीले शिक्षा समितिको बैठक राखेका थियौँ र यो प्रस्ताव आएको थियो’, धरान यात्राको क्रममा रहेको बताएका मेयर चौधरीले टेलिफोन कुराकानीमा भने, ‘अब अर्को शिक्षा समितिको बैठकमा समान शुल्कदरका बारेमा निर्णय हुनेछ ।’