इटहरीः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि टीकाराम पुरी समूहले सोमबार उम्मेद्वारी घोषणा गरेको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर पेशागत व्यावसायिक समूहबाट पुरी समूहले उम्मेदवार घोषणा गरेको हो । अध्यक्षका उम्मेदवार पुरीले निजी क्षेत्रका विद्यालयमा देखापरेका समस्यालाई सम्बोधन गर्न आफूले उम्मेद्वारी दिएको बताए ।

राजनीतिक सङ्क्रमणकाल अन्त्य भए पनि पेशागत व्यावसायिक सङ्क्रमणकाल अझै नसकिएको पुरीले बताए । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले निजी विद्यालय सञ्चालनमा प्रश्न चिह्न खडा गरेको हुनाले त्यसलाई चिर्दै राष्ट्र र समाजप्रति निजी क्षेत्रलाई थप उत्तरदायी बनाउनु आवश्यक रहेको उनले बताए । दुई वर्षभित्र राष्ट्रको मूलधारमा निजी विद्यालयलाई ल्याउने आफूले पहल गर्ने पनि उनले उद्घोष गरे ।

घोषणासभामा पेशागत समूहतर्फबाट महासचिवका उम्मेद्वार ईश्वरबहादुर गुरुङले विभिन्न १४ बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गरेका थिए ।