धरानः धरान –९ स्थित आचार्य लाइनमा साइकलको व्यापार गर्ने ३० वर्षीय रितेशप्रसाद देवको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ ।

स्थानीय मदन कर्मचार्यको घरमा भाडामा बस्दै आएका उनको आफ्नै पूजा कोठामा घाँटी रेटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनास्थललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

उनको हत्या भएको हो वा आत्महत्या हो भन्ने विषयमा अनुसन्धानपछि मात्र भन्न मिल्ने इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । घटनास्थलमा रहेका एक प्रहरी अधिकारीका अनुसार शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

मृतकले विगत १२ वर्षदेखि धरानमा साइकल पसल गर्दै आएका थिए । घटनास्थलमा तरकारी काट्न प्रयोग हुने हतियार पनि भेटिएको प्रहरीले जनाएको छ ।