उदयपुरः उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको पवित्र धार्मिकस्थल रौता क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि जिल्लाको सदरमुकाम गाईघाट, बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालनका लागि सर्वे कार्य सम्पन्न भएर अब विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्य शुरु भएको छ ।

त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको साझेदारीमा ४ वर्षभित्र जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी धार्मिकस्थल रौतासम्म केबलकार सञ्चालन हुन लागेको हो । १९ किलोमिटर लामो दूरीमा रहेको धार्मिकस्थल रौतापोखरीसम्म केबलकार सञ्चालनका लागि डीपीआर कार्य शुरु हुन लागेको त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले बताए ।

केबलकार करीब ४ अर्ब लगानीमा निर्माण हुने र रु ३ अर्ब बाह्य लगानीकर्ताको रहने बताइएको छ । रु १ अर्ब त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको साझेदारीमा स्थानीय जनताले समेत लगानी गर्न पाउने गरी केबलकार सञ्चालनको बृहत् योजना शुरु भएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताए ।

पुस महीनाबाट सर्भे कार्य शुरु गरेर प्राविधिकबाट ३ पटकभन्दा बढी सर्भे भई अब डीपीआर कार्य शुरु गर्न लागिएको त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन् ।

जिल्लाकै सबैभन्दा महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक स्थलका रूपमा रहेको रौतापोखरीमा केबलकार सञ्चालन भएपछि पर्यटन विकासमा टेवा पुग्ने सम्बन्धित क्षेत्रका जनप्रतिनिधिले बताएका छन् । रौतापोखरी क्षेत्रमा दैनिक २ सय जनाभन्दा बढी पर्यटक तथा भक्तजन दर्शन गर्न र भ्रमण गर्न जाने गरेका छन् । केबलकार सञ्चालन भएपछि दैनिक हजारौँको सङ्ख्यामा भक्तजन तथा पर्यटकको आगमन हुने र वार्षिक १० लाखभन्दा बढी भक्तजन तथा पर्यटक रौता क्षेत्रमा आगमन हुन सक्ने स्थानीय सरकारको अनुमान छ ।

उदयपुरको रौतापोखरी क्षेत्र समुद्र सतहबाट २ हजार मिटरको उचाइमा रहेको छ भने यहाँबाट उत्तरतिरको मनोरम हिमशृङ्खला, सरमाथा, ल्होत्से, आमादब्लम र पूर्वी उत्तरी क्षेत्रको अरुणबरुण हिमशृङ्खलासमेत देख्न सकिन्छ । दक्षिणतिर प्रदेश नं १ सहित प्रदेश नं २ को तराईका फाँट सप्तरी, सिरहा, जनकपुर, सप्तकोशी, इटहरी, दुहबी र विराटनगरसम्म अवलोकन गर्न सकिने रौतामाई गाउँपालिकाकी उपाध्यक्ष कुमारी ठकुरी बताउँछिन् ।